Below Menu
Below Menu

साढे तीन अर्ब खर्चेर धनगढी डिपो गोदावरी सारिँदै, भण्डारण क्षमता ११ हजार किलोलिटर पुर्याइने 

साढे तीन अर्ब खर्चेर धनगढी डिपो गोदावरी सारिँदै, भण्डारण क्षमता ११ हजार किलोलिटर पुर्याइने 

काठमाडौं : नेपाल आयल निगमको सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपोको भण्डारण क्षमता अभिवृद्धिका लागि स्थानान्तरण प्रक्रिया अघि बढेको छ ।

बुधबार निगमको सिनामंगलस्थित डिपोमा आयोजित पत्रकार सम्मेलनमार्फत सोको जानकारी दिइएको हो । भण्डारण क्षमता अभिवृद्धि परियोजना प्रमुख ई. प्रदिपकुमार यादवले धनगढी डिपोको स्थानान्तरण, भण्डारण क्षमता अभिवृद्धि एवं नयाँ स्मार्ट बनाउन लागिएको बताए । 

परियोजना संयोजक प्रदीपकुमार यादवले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जानकारी दिए । उनले हाल धनगढी उपमहानगरपालिकाको चटकपुरस्थित डिपो घना बस्तीबीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँघुरो भएकाले सुरक्षित स्थानमा सार्नु परेको बताए । 

उनका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको पायक पर्ने स्थानमा डिपो सार्न लागिएको हो । कैलालीको गोदावरी नगरपालिका–८ मा पर्ने चोकबाट पूर्वतर्फ करिब ५ किलोमिटरको दूरीमा रहेको पूर्व पश्चिम राजमार्गलाई छुने गरी डिपो सार्न लागिएको हो ।  २० बिघा १६ कट्ठा ८ धुर जग्गा डिपो स्थान्तरणका लागि उपयुक्त देखिएको जनाइएको छ ।  

“एक बिघा आठ कट्ठामा सञ्चालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले डिपो स्थान्तरण अनिवार्य भएको हो”, परियोजना प्रमुख यादवले भने । विसं २०३७ मा स्थापना गरिएको उक्त डिपोले हालको पेट्रोलियम पदार्थको माग धान्न नसक्नुका साथै भौतिक पूर्वाधार पनि जीर्ण भएकाले स्थान्तरण गर्नुपरेको उनले उल्लेख गरे । 

एक विघा ८ कठ्ठामा संचालित धनगढी डिपोको क्षेत्रफल अपर्याप्त हुनुका साथै सुरक्षाको मापदण्डभन्दा बाहिर परेको हुनाले स्थान्तरण अनिवार्य भएको प्रादेशिक कार्यालयले जनाएको छ । आगामी चैतभित्र जग्गा अधिग्रहण सम्पन्न हुने र आगामी वैशाख पहिलो साता डिपो शिलान्यास गरिने निगमको योजना छ ।

विसं २०८४ वैशाखभित्र नयाँ डिपो सञ्चालनमा ल्याइने छ । जग्गा अधिग्रहण र डिपो निर्माणका लागि तीन अर्ब ५० करोड लागत लाग्ने अनुमान गरिएको छ । काठमाडौँ विश्वविद्यालयले डिपोको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) निर्माण गर्ने आयल निगमले जनाएको छ ।

यसअघि डिपो सार्न कञ्चनपुरको पुनर्वास नगरपालिका–३ र ६ मा अवस्थित राष्ट्रिय आवास कम्पनीको २२ बिघा जग्गा लिने तयारी गरेको थियो । पुनर्वास नगरपालिकाले जग्गा प्राप्तिको सिफारिस दिन अस्वीकार गरेपछि अर्को जग्गा खोज्नु परेको हो । 

नयाँ डिपोमा पेट्रोल एक हजार आठ सय किलोलिटर, डिजेल छ हजार छ सय किलोलिटर र मट्टितेल पाँच सय किलोलिटर भण्डारण क्षमता निर्माण गरिनेछ । सो डिपोबाट सुदूरश्चिमाञ्चका नौ जिल्लामा पेट्रोलियम पदार्थ आपूर्ति व्यवस्था मिलाउँदै आएको छ । हालको डिपोमा पेट्रोल र डिजेल सात सय ६०/सात सय ६० किलोलिटर र मट्टितेल ७० किलोलिटर भण्डारण क्षमता रहेको छ ।

निगमको चालु आवको बजेटमा सबै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउने नीतिअनुरूप कर्णाली र सुदूपश्चिम प्रदेशमा जग्गा प्राप्ति प्रक्रिया अघि बढाउन सिफारिस गरिएको परियोजना संयोजक यादवले जानकारी दिए । 

Advertisment