काठमाडौं : सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार बढी विद्युतीय गाडी आयात गरेको छ । भन्सार विभाग तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ हजार ५१८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो ।
यस अवधिमा सरकारले ६ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको उक्त संख्यामा गाडी आयात गरेको हो । आयातित गाडीबाट तीन अर्ब ७४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त संख्या गत वर्षको सोही अवधिको तुलनामा १७.९३ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपालले पाँच अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ बराबरको २ हजार १२५ युनिट विद्युतीय गाडी आयात गरेको थियो ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाटका विद्युतीय गाडी आयात हुने गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाटका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा चार अर्ब १६ करोड ३४ लाख मूल्यका एक हजार ५८२ गाडी भित्रिएका छन् ।
सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।
असोज मसान्तसम्म नेपालले ५० किलोवाटसम्मका एक अर्ब ३९ करोड १९ लाख मूल्य बराबरका ७७२ युनिट गाडी आयात गरेको छ । त्यस्तै १०१ देखि २०० किलोवाटका १५९ युनिट, २०१ देखि ३०० किलोवाटसम्मका तीन ओटा गाडी भित्रिएका छन् भने ३०० किलोवाटमाथिका बिजुली गाडी पाँच युनिट आयात भएका छन् ।