मिथिला लघुवित्तको नाफा ६०.८५ प्रतिशतले बढ्यो, इपीएस कति ? 

मिथिला लघुवित्तको नाफा ६०.८५ प्रतिशतले बढ्यो, इपीएस कति ? 

काठमाडौं : मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ६०.८५ प्रतिशतले बढी  हो । अघिल्लो वर्ष कम्पनीले २ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेका कारण खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । यसका साथै संस्थाको खराब कर्जा घटेका कारण पनि नाफामा सुधार देखिएको हो ।

असार मसान्तसम्म आइपुग्दा लघुवित्तको खुद ब्याज आम्दानी ५६.०२ प्रतिशतले बढेर १४ करोड ७४ लाख रुपैयाँ पुगेको भने कुल सञ्चालन आम्दानी ३८.६६ प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको सञ्चालन नाफा ३०२६.६५ प्रतिशतले बढेर ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ४.७८ प्रतिशत रहेको संस्थाको खराब कर्जा घटेर ३.३९ प्रतिशतमा झरेको छ । 

यस अवधिमा नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २६ पैसा रहेको छ । भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ २२ पैसा रहेको छ।

असार मसान्तसम्म १९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १२ करोड ७८ लाख रुपैयाँ सञ्चित छ ।