Below Menu
Below Menu

वैदेशिक लगानी उत्साहजनकः ६६७ उद्योगका लागि साढे ८१ अर्बको प्रतिवद्धता, पर्यटनमा आकर्षण 

वैदेशिक लगानी उत्साहजनकः ६६७ उद्योगका लागि साढे ८१ अर्बको प्रतिवद्धता, पर्यटनमा आकर्षण 

काठमाडौं : नेपाल भित्रिने वैदेशिक लगानीमा सुधार देखिएको छ । विश्वव्यापी रुपमा देखिएको आर्थिक शिथिलताका कारण प्रभावित बनेको वैदेशिक पछिल्लो समय बढ्न थालेको हो । 

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा साढे ८१ अर्ब बढी रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । एक वर्षको अवधिमा सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ६६७ उद्योगका लागि ८१ अर्ब ६७ करोड ७६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत आवको सोही अवधिको तुलनामा ६४.२२ प्रतिशतले बढी हो । जबकी गत वर्षको सोही अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ४६५ उद्योगका लागि ५४ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

यस अवधिमा विदेशी लगानीका ४०७ नयाँ उद्योगका लागि ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एसपीए र एसएसएका ६५ उद्योगका लागि ११ अर्ब ६५ करोड ६८ लाख ३९ हजार रुपैयाँ प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा अटोमेटिक रुटबाट आठ अर्ब भन्दा बढी विदेही लगानी प्रस्ताव आएको छ । लगानी सम्मेलनको अवसरमा उद्योग विभागले गत वैशाख १६ गतेबाट यो प्रणाली सञ्चालनमा ल्याएको थियो । 

सञ्चालनमा आएको केही महिनामै अटोमेटिक रुटबाट विभिन्न १०७ कम्पनीका लागि ८ अर्ब ११ करोड ६२ लाख ३० हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको हो । 

२२ हजार बढीलाई रोजगारी 

असार मसान्तसम्म दर्ता भएका उद्योगमा २२ हजार ९४ जनाले रोजगारी पाउने भएका छन् भने असारमा महिनामा दर्ता भएका उद्योगमा एक हजार ९४८ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग ३८६ वटा, मझौला उद्योग १५ वटा र ठूला उद्योग ६ वटा रहेका छन् । असारमा मात्रै विदेशी लगानीका साना उद्योग ४५ वटा दर्ता भएका छन् ।

कुन महिनामा कति आयो लगानी ? 

साउन–११ अर्ब ९६ करोड ७८ लाख 
भदौ– पाँच अर्ब ८५ करोड ८५ लाख
असोज– दुई अर्ब ४४ करोड ८८ लाख 
कात्तिक– एक अर्ब ८० करोड ६३ लाख
मंसिर– दुई अर्ब ५६ करोड १९ लाख 
पुस– एक अर्ब ९८ करोड ९५ लाख
माघ– एक अर्ब १९ करोड २० लाख
फागुन– छ अर्ब ६७ करोड २० लाख 
चैत– आठ अर्ब ५६ करोड ४ लाख
बैशाख– १३ अर्ब ८५ करोड ९६ लाख ८९ हजार रुपैयाँ
जेठ– ७ अर्ब ६१ करोड ६१ लाख 
असार– २१ अर्ब ८८ करोड ६९ लाख 

कुन क्षेत्रमा कति आयो लगानी ? 

विभाग अनुसार यस अवधिमा सूचना प्रविधि क्षेत्रका ११ वटा, निर्माण क्षेत्रका ४६ वटा, सेवामुलक क्षेत्रका १३३ वटा, खनिज क्षेत्रका तीन, पर्यटन क्षेत्रका १९७ उद्योग दर्ता भएका छन् ।

त्यस्तै यस अवधिमा कृषि क्षेत्रका आठ र पूर्वाधार क्षेत्रका ६ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने सबैभन्दा कम तीन उद्योगका लागि लगानी आएको छ ।

पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण 

यस अवधिमा आएको लगानी प्रतिवद्धतामा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ । विभागका अनुसार यस अवधिमा आएको लगानी प्रतिवद्धतामा पर्यटन क्षेत्रका लागि मात्रै करिब साढे चार अर्बको प्रतिवद्धता आएको छ ।

पर्यटन मुलक क्षेत्रका ६९ उद्योगका लागि ४ अर्ब ४२ करोड ३२ लाख रुपैयाँ बराबरको प्रतिवद्धता आएको हो । त्यस्तै सेवामुलक क्षेत्रका ३५ उद्योगका लागि २ अर्ब ९६ करोड, सूचना प्रविधिका २८ उद्योगका लागि ४१ करोड ३० लाख लगानी प्रतिवद्धता आएको छ । 

लाभांश वापत १० अर्ब बाहिरियो 

विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश र रोयल्टी पनि घटेको छ । 

यस अवधिमा विदेशी लगानीकर्ताले नाफा वापत १० अर्ब ७ करोड ८२ लाख ९० हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । असार मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

गत आवको सोही अवधिको तुलनामा उक्त रकम तीन अर्ब ८५ करोड २६ लाख रुपैयाँ अर्थात २७.८६ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेशी लगनाीकर्ताहरुले लाभांश वापत १३ अर्ब ८४ करोड ४८ लाख ३२ हजार रुपैयाँ लगेका थिए ।

यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत दुई अर्ब ७९ करोड ५ लाख १६ हजार रुपैयाँ, एक करोड ९ लाख ३७ हजार अमेरिकी डलर र ७६ करोड २७ लाख ९६ हजार भारतीय रुपैयाँ रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

Advertisment

थप समाचार