काठमाडौं : चालु आर्थिक वर्षको जेठ महिनामा घरजग्गा कारोबारमा सुधार देखिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा मार्फत लचक नीति अपनाएसँगै घरजग्गाको कारोबार बढेको हो ।
राष्ट्र बैंकको मौद्रिक नीतिको समिक्षा मार्फत घरजग्गामा प्रवाह हुने कर्जामा खुकुलो नीति लिएको थियो । जसले गर्दा घरजग्गा कारोबार र राजस्व संकलनमा पनि बढेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठ महिनामा देशभरका मालपोत कार्यालयहरुबाट ५७ हजार ४५० लिखित पास भएको छ भने ४ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
उक्त राजस्व गत बैशाखको तुलनामा ५१ करोड रुपैयाँले बढी हो । बैशाख महिनामा ४९ हजार ७८३ वटा लिखित पास हुँदा ४ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
चालु आवको एघार महिना अर्थात जेठ मसान्तसम्म घरजग्गा कारोबार बाट ३९ अर्ब २६ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिको तुलनामा ३७ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागकाअनुसार कुल राजस्वमध्ये सेवा कर ३२ करोड ३८ हजार रुपैयाँ, रजिष्ट्रेसन दस्तुर २ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ र पुँजिगत लाभ कर १ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ तथा अन्य कर तथा दस्तुरहरु रहेका छन् ।
बैंशाखमा ४९ हजार ७८२ घरजग्गा लिखत पास कारोबार भएको विभागले जनाएको छ । यस अवधिमा ३२ हजार ४३९ वटा घरजग्गा रोक्का भएको छ भने २७ हजार ८४२ जग्गा फुकुवा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यसअघि चैत महिनामा ५० हजार २५२ वटा घरजग्गा कारोबार भएको थियो भने फागुनमा ४९ हजार २८७ घरजग्गा कारोबार भएको थियो । त्यस्तै माघमा महिनामा ४९ हजार २९० वटा घरजग्गा किनबेच भएको थियो ।
त्यस्तै, पुसमा ४५ हजार २७७ वटा, मंसिरमा ४१ हजार ८५१ वटा, कात्तिकमा २६ हजार, असोजमा ४७ हजार ३९८ वटा भदौमा ३५ हजार ६८६ वटा र साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।
Advertisment