एघार महिनामा सरकारले गर्यो ११ खर्ब ८१ अर्ब खर्च, बजेट घाटा करिब साढे दुई खर्ब

एघार महिनामा सरकारले गर्यो ११ खर्ब ८१ अर्ब खर्च, बजेट घाटा करिब साढे दुई खर्ब

काठमाडौं : सरकारले एघार महिनामा करिब साढे दुई खर्बको बजेट घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मुलुकले दुई खर्ब ३६  अर्ब ७४ करोड ७७ लाख बराबर बजेट घाटा व्यहोरेको हो । 

यस अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । लक्ष्यअनुसार राजस्व संकलन नभएको अवस्थामा सरकारी खर्च निरन्तर बढ्दा वित्त व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार जेठमा वार्षिक लक्ष्यको ६४.१६ प्रतिशत आम्दानी र ६७.४६ प्रतिशत खर्च भएको छ ।

चालु आवका लागि सरकारले कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजश्व उठाउने लक्ष्य लिएको छ । कार्यालयको तथ्याङ्कअनुसार जेठ मसान्तसम्ममा ९ खर्ब ४४ अर्ब ६९ करोड ९२ लाख बराबर राजश्व असुली भएको छ । यो वार्षिक लक्ष्यको ६४.१६ प्रतिशत बराबर हो ।

यस अवधिमा कर राजश्वतर्फ ६४.६२ प्रतिशत अर्थात् ९ खर्ब १९ अर्ब २८ करोड ८२ लाख उठेको छ । गैरकरतर्फ वार्षिक लक्ष्यको ६३.५१ प्रतिशत अर्थात् आठ खर्ब २९ अर्ब १२ करोड ८९ लाख बराबर असुली भएको छ ।

चालु आवका लागि कूल ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखिएकामा हालसम्म ५.५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख बराबर वैदेशिक अनुदान लिइएको छ ।

चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्ममा ११ खर्ब ८१ अर्ब ४४ करोड ६९ लाख खर्च भएको छ । यो वार्षिक लक्ष्यको ६७.४६ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा कूल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर बजेट छुट्याइएकामा ६५.९१ प्रतिशत अर्थात् आठ खर्ब २२ अर्ब ९५ करोड ८९ लाख खर्च भएको छ । चालु शीर्षकमा हालसम्म भएको खर्च वार्षिक लक्ष्यको ७२.०८ प्रतिशत हो ।

त्यसैगरी, पुँजीगत खर्च शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर छुट्याइएकामा ४४.६८ प्रतिशत अर्थात् एक खर्ब ३४ अर्ब ९७ करोड ९२ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापनमा ३ खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट विनियोजन भएकामा ७२.७ प्रतिशत अर्थात् दुई खर्ब २३ अर्ब ५० करोड ८८ लाख बराबर खर्च भएको छ ।
 

थप समाचार