विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी

विद्युतीय गाडीको आयात चार गुणाले बढ्यो, दश महिनामा भित्रिए आठ हजार ४९७ गाडी

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडी आयात उच्च बढेको छ । चालु आर्थिक वर्षको दश महिनामै ८ हजार ४९७ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । 

गत आवको सोही अवधिमा २ हजार ९९५ वटा विद्युतीय गाडी आयात भएको थियो । गत वर्षकाे तुलनामा यस अवधिमा इभी गाडीकाे आयात चार गुणाले बढेकाे हाे ।

सरकारले पेट्रोलियम विद्युतीय सवारी साधनलाई आयातमा भारी छुट दिएसँगै नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको हो ।

विभागका अनुसार यस अवधिमा इभी गाडीको आयात गर्दा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बाहिरिएको छ भने आयातित गाडीबाट ९ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । 

यस अवधिमा नेपालले सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधन आयात गरेको छ ।बैशाख मसान्तसम्म नेपालले १३ अर्ब ८७ करोड ७४ लाख रुपैयाँको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको चार हजार ८९६ वटा विद्युतीय गाडी आयात गरेको हो ।

विभागअनुसार यस अवधिमा नेपालले ६ अर्ब ५२ करोड १२ लाख रुपैयाँ बराबरको ५० किलोवाटको तीन  हजार ४७२ वटा विद्युतीय गाडी आयात गरेको छ ।

त्यसैगरी यस अवधिमा ५१ करोड २४ लाख रुपैयाँ खर्चेर १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको रुपैयाँमा १०५ वटा र १७ करोड ६८ लाख ७७ हजार रुपैयाँ खर्चेर २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २४ वटा विद्युतीय सवारी साधन आयात गरेको छ ।

विभागका अनुसार नेपालले बैशाखमा मात्र एक हजार ४०४ वटा गाडी आयात गरेको छ । त्यस्तै साउनमा ११० वटा गाडइ आयात गरेको थियो भने भदौमा ७८८ वटा र असोजमा १२ सय ३७ वटा इभ िगाडी आयात भएको थियो । 

विभागको तथ्यांक अनुसार चालु आवको कार्तिकमा ६५२ वटा, मंसिरमा ८९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा १ हजार ५२ वटा, फागुनमा २७६ वटा  र चैतमा ६५८ वटा विद्युतीय गाडी आयात भएको थियो । 

यस अवधिमा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गरेको छ । विभागका अनुसार बैशाख मसान्तसम्म चीनबाट मात्रै १५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको ५ हजार ५४७ वटा इभि गाडी आयात गरेको हो । 

त्यसैगरी भारतबाट २ हजार ७४५ वटा, कोरियाबाट ४८ वटा, इन्डोनेशियाबाट १४१ वटा जर्मनबाट १३ वटा र अमेरिकाबाट ३ वटा इभि गाडी आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
 

थप समाचार