काठमाडौं : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको नौ महिनामै ७ हजार ९३ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा २ हजार ४५१ वटा विद्युतीय गाडी आयात भएको थियो ।
सरकारले पेट्रोलियम विद्युतीय सवारी साधनलाई आयातमा भारी छुट दिएसँगै नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको हो ।
विभागका अनुसार यस अवधिमा इभी गाडीको आयात गर्दा १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बाहिरिएको छ भने आयातित गाडीबाट ७ अर्ब ७८ करोड २१लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
यस अवधिमा नेपालले सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधन आयात गरेको छ । चैत मसान्तसम्म नेपालले ११ अर्ब ४६ करोड ९८लाख रुपैयाँको ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको चार हजार ७७ वटा विद्युतीय गाडी आयात गरेको हो ।
विभागअनुसार यस अवधिमा चैतसम्ममा नेपालले ५ अर्ब ४० करोड २९ लाख रुपैयाँ बराबरको ५० किलोवाटको २ हजार ९०२ वटा विद्युतीय गाडी आयात गरेको छ ।
त्यसैगरी यस अवधमिा ४६ करोड ८८ लाख रुपैयाँ खर्चेर १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको रुपैयाँमा ९३ वटा र १५ करोड ३२ लाख रुपैयाँ खर्चेर २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २१ वटा विद्युतीय सवारी साधन आयात गरेको छ ।
विभागका अनुसार नेपालले चैतमा मात्र ६५८ वटा इभि आयात गरेको छ भने साउनमा ११० वटा, भदौमा ७८८ वटा, असोजमा १२ सय ३७ वटा, कार्तिकमा ६५२ वटा, मंसिरमा ८९९ वटा, पुसमा १४ सय १२ वटा, माघमा १ हजार ५२ वटा र फागुनमा २७६ वटा विद्युतीय गाडी आयात गरेको छ ।।
यस अवधिमा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गरेको छ । विभागका अनुसार चैत मसान्तसम्म चीनबाट मात्रै १२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ बराबरको ४ हजार ५३३ वटा इभि गाडी आयात गरेको हो ।
त्यसैगरी भारतबाट ३३३ वटा, कोरियाबाट ४८ वटा, इन्डोनेशियाबाट ३७ वटा जर्मनबाट १२ वटा र अमेरिकाबाट ४ वटा इभि गाडी आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।