काठमाडौं : चालु आर्थिक वर्षको नौैं महिनामा करिब साढे २ खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो सँगै नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ६९ करोड रुपैयाँ पुगेको हो ।
गत असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको सार्वजनिक ऋण चालु आवको नौं अर्थात चैत मसान्तसम्म आइपुग्दा ८६ अर्ब २२ करोड रुपैयाँ थपिएको हो ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६ अर्ब ३१ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालु आवको पहिलो नौं महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण २ खर्ब ३८ अर्ब ९३ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब अर्ब ७६ रुपैयाँ रहेको छ भने बाह्य ऋण ६२ अर्ब ९३ करोड रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत एक खर्ब ५२ अर्ब ५० करोड रूपैयाँ भुक्तानी पनि गरेको छ । सरकारले आन्तरिक तर्फको एक खर्ब २५ अर्ब ६२ करोड र बाह्य तर्फको २६ अर्ब ८७ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार चैत मसान्तसम्म आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ४९ अर्ब ७८ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ६ अर्ब ८७ करोड रूपैयाँ खर्च भएको छ ।
Advertisment