काठमाडौं : पछिल्लो केही महिना यता नेपाल भित्रिने वैदेशिक लगानीमा केही सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ४३ अर्ब बढी वैदेशिक लगानी भित्रिएको हो ।
यससब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३१० उद्योगका लागि ४३ अर्ब ७ करोड ४० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
उक्त लगानी गत आवको सोही अवधिको तुलनामा ४.५१ प्रतिशतले बढी हो । जबकी गत वर्षको चैतमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी २४५ उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
यस अवधिमा विदेशी लगानीका २६९ नयाँ उद्योगका लागि ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका ४१ उद्योगका लागि १२ अर्ब ९७ करोड ४५ लाख ६८ रुपैयाँ प्रतिवद्धता आएको हो ।
एक महिनामा भित्रियो करिब नौं अर्ब
विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा केही मात्रामा बढ्न थालेको हो । गत फागुनको तुलनामा चैत महिनामा उक्त लगानी २ अर्ब २४ करोड ८४ लाख रुपैयाँ बढी लगानी बढेको छ ।
उद्योगको विभागको पछिल्लो तथ्यांक अनुसार चैतमा करिब नौ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी २० उद्योगका लागि ८ अर्ब ९२ करोड ४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
उक्त लगानी गत फागुन महिनाको तुलनामा ३३.५९ प्रतिशतले बढी हो । जबकी पुसमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी १४ उद्योगका लागि ६ अर्ब ६७ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
यस अवधिमा विदेशी लगानीका १२ नयाँ उद्योगका लागि ६ अर्ब ४७ करोड २० लाख हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका दुई उद्योगका लागि २० करोड रुपैयाँ प्रतिवद्धता आएको हो ।
१३ हजार बढीलाई रोजगारी
चालु आवको चैत मसान्तसम्म दर्ता भएका उद्योगमा १३ हजार ८३४ जनाले रोजगारी पाउने भएका छन् भने चैत महिनामा दर्ता भएका उद्योगमा ६६५ जनालाई रोजगारी प्रस्ताव गरिएको हो ।
यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग २५३ वटा, मझौला उद्योग १३ वटा र ठूला उद्योग तीन वटा रहेका छन् । चैतमा मात्रै विदेशी लगानीका साना उद्योग १५ वटा दर्ता भएका छन् ।
विभाग अनुसार चैत मसान्तसम्म सूचना प्रविधि क्षेत्रका नौ वटा, निर्माण क्षेत्रका ३२ वटा, सेवामुलक क्षेत्रका ९३, खनिज क्षेत्रका दुई, पर्यटन क्षेत्रका ११२ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका पाँच र पूर्वाधार क्षेत्रका ६ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने लगानी आएको छैन ।
घट्दै रोयल्टी र लाभांश रकम
विभागका अनुसार यस अवधिमा नेपालमा लगानी गरेका विदेशी कम्पनी तथा लगानीकर्ताहरुले नाफा वापत लाने लाभांश पनि घटेको छ ।
यस अवधिमा विदेशी लगानी कर्ताले नाफा वापत ९ अर्ब चार करोड ८७ लाख ५२ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । चैत मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।
गत आवको सोही अवधिको तुलनामा उक्त रकम चार अर्ब ७२ करोड ५६ लाख रुपैयाँ अर्थात ५२.२२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा विदेशी लगनाीकर्ताहरुले लाभांश वापत १३ अर्ब ७७ करोड ४४ लाख १० हजार रुपैयाँ लगेका थिए ।
यस अवधिमा लगानीकर्ताहरुले रोयल्टी मार्फत एक अर्ब ७० करोड १९ लाख ३६ हजार रुपैयाँ, एक करोड ५ लाख ४३ हजार अमेरिकी डलर र ५५ करोड ४६ लाख १६ हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
Advertisment