काठमाडौं : सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै बजारमा इभी गाडीको आयात बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामै ६ हजार ४ सय ३५ वटा विद्युतीय गाडी (जीप, कार र भ्यान) आयात भएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार यो संख्या हालसम्मकै उच्च हो । गत आवको सोही अवधिमा ४ हजार ५० वटा विद्युतीय गाडी आयात भएको थियो ।
सरकारले पेट्रोलियम विद्युतीय सवारी साधनलाई आयातमा भारी छुट दिएसँगै नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको हो ।
विभागका अनुसार यस अवधिमा इभी गाडीको आयात गर्दा १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बाहिरिएको छ भने आयातित गाडीबाट ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
यस अवधिमा नेपालले सबैभन्दा बढी ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय सवारी साधन आयात गरेको छ । फागुन मसान्तसम्म नेपालले १० अर्ब १८ करोड ५३ लाख रुपैयाँको ३ हजार ५९४ वटा विद्युतीय गाडी आयात गरेको हो ।
विभागअनुसार यस अवधिमा फागुनसम्ममा नेपालले ५ अर्ब १० करोड ४६ लाख रुपैयाँ बराबरको ५० किलोवाटको २ हजार ७४६ वटा विद्युतीय गाडी आयात गरेको छ ।
त्यसैगरी यस अवधमिा ३८ करोड ५० लाख रुपैयाँ खर्चेर १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको रुपैयाँमा ७५ वटा र १४ करोड ४८ लाख रुपैयाँ खर्चेर २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको २० वटा विद्युतीय सवारी साधन आयात गरेको छ ।
यस अवधिमा नेपालले सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात गरको छ । विभागका अनुसार फागुन मसान्तसम्म चीनबाट मात्रै १० अर्ब ८६ करोड ४ लाख रुपैयाँको ३ हजार ९६९ वटा आयत गरेको हो ।
त्यसैगरी भारतबाट ९३ करोड १७ लाख रुपैयाँको २३ सय ८० वटा, दक्षिण कोरियाबाट ४२ वटा, इन्डोनेसियाबाट ३४ वटा, जर्मनीबाट ७ वटा र अमेरिकाबा ३ वटा गाडी आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
Advertisment