Below Menu
Below Menu

आठ महिनामा थपियो ९२ अर्ब ८३ करोड सार्वजनिक ऋण, करिब २४ खर्ब पुग्यो 

आठ महिनामा थपियो ९२ अर्ब ८३ करोड सार्वजनिक ऋण, करिब २४ खर्ब पुग्यो 

काठमाडौं : नेपालको सार्वजनिक ऋण करिब २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो ।

गत असार मसान्तसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको सार्वजनिक ऋण चालु आवको आठ महिना अर्थात फागुन मसान्तसम्म आइपुग्दा ९२ अर्ब ८३ करोड रुपैयाँ थपिएको हो ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

चालु आवको पहिलो आठ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण २ खर्ब १८ अर्ब ८६ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ५५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

फागुन मसान्तसम्म सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत एक खर्ब २६ अर्ब तीन करोड रूपैयाँ भुक्तानी पनि गरेको छ । सरकारले आन्तरिक तर्फको एक खर्ब २ अर्ब ९७ करोड र बाह्य तर्फको २३ अर्ब ६ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो । 

कार्यालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ४६ अर्ब ६७ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न ५ अर्ब ७९ करोड रूपैयाँ खर्च भएको छ ।

Advertisment