बैंकिङ कसुरमा समातिएका १० बैंकरमाथि सिआईबीले शुरु गर्यो दोस्रो चरणको अनुसन्धान

बैंकिङ कसुरमा समातिएका १० बैंकरमाथि सिआईबीले शुरु गर्यो दोस्रो चरणको अनुसन्धान

काठमाडौं : धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर) मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

Sponsored Advertisement

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिए । 

तत्कालिन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटिसकेका छन् ।

प्रहरी उपरीक्षक बोगटीले भने, ‘व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उहाँहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ र साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुङ्गिएको पनि होइन । अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोहीअनुसार गरिएको हो ।’ 

गत फागुन १५ गते पक्राउ गरेका बैंकरलाई ब्यूरोले १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । गत फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो ।

थप समाचार