Below Menu
Below Menu

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन: बिदाइ र स्वागत एकैदिन

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन: बिदाइ र स्वागत एकैदिन

काठमाडौं : बुधबार अपराह्न १:१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बन्नुभएका शक्तिबहादुर बस्नेत पुन: ऊर्जा मन्त्रालयमा  नआउने अनुमान गरिएको थियो ।

सोही आधारमा ऊर्जा मन्त्रालयले पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ समारोह राखेको थियो । बिदाइ समारोहमा मन्त्रालय र मातहतका निकायका अलावा, जल तथा ऊर्जा आयोगका सचिवलगायत कर्मचारी उपस्थित थिए । जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले ऊर्जामन्त्री बस्नेतको कार्यकालमा ऊर्जा क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताए । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले पनि बस्नेतको राजनीतिक जीवनको सफलताको कामना गरेका थिए ।
ऊर्जा क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा उल्लेखनीय प्रगति भएको बताउँदै मन्त्रालय र मातहतका पदाधिकारीले मन्त्री बस्नेतको भावपूर्ण बिदाइ गरेका थिए । मन्त्रीका रुपमा एक वर्षको अवधि आफ्ना लागि पनि महत्वपूर्ण रहेको र एउटा महत्वपूर्ण सिकाइ भएको उनले बताए । उनले एक वर्षको बीचमा रणनीतिक महत्वका काम भएको स्पष्ट पार्दै आगामी दिनमा आउने मन्त्रीले पनि आफ्नै पदचापमा काम गर्ने विश्वास व्यक्त गरे ।ल उनले अप्रत्यक्ष रुपमा पुनः आफू नै यस मन्त्रालय सम्हाल्न आउने विश्वास व्यक्त गरेका थिए । नभन्दै त्यस्तै भयो । 

आज अपराह्न १:१५ बजे मन्त्री बस्नेतलाई खादा, माला पहिराएर बिदाइ गरेका मन्त्रालयका कर्मचारीले पुन: राति ८:३० बजे मन्त्री बस्नेतको स्वागत गरे र सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पदबहाली गर्दै मन्त्रालयका सबै कर्मचारीसँग मिलेर मुलुक र जनताको हितका लागि काम गर्ने बताए ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेतलाई ऊर्जामन्त्रालयका सचिवद्वय सिग्देल र जलस्रोत तथा सिँचाइ सचिव तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीलगायतले मन्त्रालयमा स्वागत गरेका थिए ।

साँझ स्वागत समारोहमा सचिव सिग्देलले आफ्नो जीवनमा पहिलोपटक एकै दिन बिदाइ र स्वागत गर्न पाउने बिरलै अवसर पाएको बताए । उनले भने, “यो मेरा लागि जीवनकै महत्वपूर्ण अवसर हो । यसले हामीलाई थप जिम्मेवार बनेर काम गर्नका लागि पनि सहयोग गर्नेछ ।”

दुई महत्वपूर्ण प्रस्तावमा हस्ताक्षर

पदवहालीलगत्तै मन्त्री बस्नेतले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् । सो कार्यदलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल संयोजक, सहसचिव नवीनराज सिंह, सहसचिव कलानिधि पौड्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य रहेका छन् ।

यस्तै, जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा पनि मन्त्री बस्नेतले हस्ताक्षर गरेका छन् । त्यसले प्रसारण शुल्क निर्धारण तथा प्रसारण लाइनको सञ्चालनलगायतका विषय समेटिएको छ । विद्युत् नियमन आयोग ऐनमा भएको व्यवस्थाअनुसार विस्तृत जनरल नेटवर्क एक्सेसको निर्देशिका तयार हुनेछ । 

Advertisment

थप समाचार