काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत साघुँरिदै गएको छ । बीमाको पहुँच विस्तारमा प्राधिकरणले विभिन्न नीतिहरुको लिए पनि प्रभावकारी हुन नसकेको देखिन्छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।
गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४.७० प्रतिशतमा पुगेको थियो । तर, चालु आवको माघ मसान्तसम्मको तथ्यांक हेर्दा यो संख्या ४३.१४ प्रतिशतमा सिमित भएको छ ।
प्राधिकरणका नीति असफल
बीमाको दायरा विस्तारका लागि प्राधिकरणले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । स्थानीय तहहरुको समन्वयमा बीमा क्षेत्रका बारेमा अन्तक्र्रिया कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । तर, बीमा दायरा विस्तारमा भने वृद्धि हुन सकेको छैन ।
पछिल्लो समय बजारमा देखिएको आर्थिक मन्दीका कारण बीमा क्षेत्रमा पनि असर परेको बीमा विज्ञ बताउँछन् । मुलुकमा देखिएको आर्थिक संकट, बजारको महंगी र बैंकको बढ्दो ब्याजदरका कारण बीमा क्षेत्रलाई प्राथमिकतामा नराखेको उनीहरुको भनाई छ ।
खस्किदै व्यवसाय
बीमा क्षेत्रको दायरा संँगसँगै बीमा कम्पनीहरुहरुको व्यवसाय पनि घट्दै गएको छ । गत वर्षको माघ मसान्तसम्म २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय चालु आवको सोही अवधिमा आइपुग्दा २.६० प्रतिशतले घटेर २२ अर्ब ४६ करोड २८ लाख रुपैयाँमा सिमित भएको छ ।
यता जीवन बीमा कम्पनीहरुको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । माघ मसान्तसम्म ८६ अर्ब ९२ करोड ३११ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको छ ।
गत आवको सोही अवधिको तुलनामा कम्पनीहरुको व्यवसाय ४.२४ प्रतिशतले बढेको हो । गत वर्षको माघ मसान्तसम्म ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बराबरको कुल जीवन बीमाशुल्क संकलन भएको थियो ।
प्राधिकरणका अनुसार निर्जीवन र जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क संकलन भने एक खर्ब ९ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो बीमाशुल्क एक खर्ब ६ अर्ब ४५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
चालु आवको माघ मसान्तसम्ममा कुल जीवन बीमालेख संख्या ३.२७ प्रतिशतले घटेर एक करोड ३७ लाख ९४ हजार १३७ मा सिमित भएको छ भने निर्जीवन बीमालेख संख्या ४.०८ प्रतिशतले बढेर १७ लाख २ हजार ९८७ मा सिमित भएको छ ।
प्राधिकरणका अनुसार यस अवधिमा म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेकको जीवन बीमालेख संख्या ३.९१ प्रतिशतले घटेर ५५ लाख १४ हजार २९२ मा पुगेको छ । त्यस्तै, म्यादि र लघुम्यादि जीवन बीमालेख संख्या ११.८३ प्रतिशतले घटेर ६३ लाख १४ हजार ८१ रहेको छ ।
यस अवधिमा वैदेशिक रोजगार बीमालेख संख्यामा भने वृद्धि भएको छ । गत आवको माघ मसान्तसम्म १३ लाख ६० हजार ३८८ वैदेशिक रोजगार बीमालेख संख्या रहेको यस अवधिमा ४४.५० प्रतिशतले बढेर १९ लाख ६५ हजार ७६४ मा पुगेको छ ।
त्यसैगरी गत आवको सोही अवधिमा १६ अर्ब ४५ करोड ७१ लाख रुपैयाँ रहेको प्रथम जीवन बीमाुशल्क १.८५ प्रतिशतले घटेर १५ अर्ब १५ करोड २९ लाखमा सिमित भएको छ । नविकरण जीवन बीमाशुल्कमा भने ५.७३ प्रतिशतले वृद्धि भएको पाइएको छ ।
त्यस्तै, यस अवधिमा म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १७.१२ प्रतिशत रहेको छ भने म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३६.७२ प्रतिशत रहेको छ ।
घट्दै कार्यालय र कर्मचारी
प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुको कार्यालय र कर्मचारीको संख्या पनि घट्दै गएको छ । पछिल्लो समय धेरै कम्पनीहरुको मर्जरमा गएका कारण पनि कार्यालयका संख्या घट्दै गएको बीमा कम्पनीका सञ्चालक बताउँछन् ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या १६.२८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा कम्पनीहरुको कार्यालय संख्या ६.३६ प्रतिशतले बढेको छ ।
प्राधिकरणका अनुसार गत आवको माघ मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २ हजार १९९ रहेको थियो भने चालु आवको यस अवधिमा आइपुग्दा यस्तो संख्या घटेर एक हजार ८४१ मा झरेको छ ।
गत वर्षको माघ मसान्तको तुलनामा चालु आवको सोही अवधिमा बीमा कम्पनीहरुका कर्मचारी ६६ जना घटेका छन् । गत आवको सोही अवधिमा ११ हजार ५३८ कर्मचारी रहेका बीमा कम्पनीहरुमा यस अवधिमा आइपुग्दा घटेर ११ हजार ४७२ जना रहेका छन् ।
कात्तिक मसान्तसम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको कर्मचारी ६.२८ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कर्मचारी ०.२८ प्रतिशतले घटेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
Advertisment