काठमाडौं : पछिल्लो समय नेपालमा विद्युतीय सवारी प्रयोगकर्ताको संख्या बढ्न थालेको छ । अटो बजार विस्तारै विद्युतीय सवारीमय बन्दै गइरहँदा पेट्रोलियम पदार्थबाट चल्ने भन्दा इभि गाडीका प्रयोगकर्ताहरु बढ्न थालेका हुन् ।
भन्सार विभागको पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालले एक महिनामा १ हजार बढी विद्युतीय गाडी (कार, जीप र भ्यान) आयात गरेको छ । विभागका अनुसार यस अवधिमा १ हजार ५२ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
चालु आवको सात महिना अर्थात माघ मसान्तसम्म नेपालले ६ हजार १५९ थान विद्युतीय गाडी आयात गरेको छ । यो संख्या गत वर्षको तुलनामा २०६.५७ प्रतिशतले बढी हो । जबकी गत वर्षको सोही अवधिमा नेपालले २ हजार ९ वटा इभि गाडी आयात गरेको थियो ।
यस अवधिमा नेपालले १५ अर्ब ४ करोड ९ लाख रुपैयाँ बराबरको विद्युतीय सवारी आयात गरेको हो । उक्त गाडी आयातबाट सरकारले भने ६ अर्ब ६२ करोड ८० लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।
नेपालमा विश्वप्रसिद्ध ब्रान्डका ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका विद्युतीय गाडी आयात हुने गरेका छन् । सबैभन्दा धेरै विद्युतीय गाडी छिमेकी मुलुक चिनबाट आउने गरेको छ भने भारत, कोरिया, जर्मन, इन्डोनेसिया, अमेरिका लगायतका मुलुकहरूबाट पनि नेपालमा विद्युतीय सवारी आयात हुने गरेको छ ।
यस अवधिमा चीनबाट मात्रै नेपालले १० अर्ब १२ करोड ४१ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी नेपालले आयात गरेको छ । जसमा विभिन्न तौल क्षमताका ३ हजार ७११ वटा गाडी आयात भएको छ । यस्तै भारतबाट पनि ४ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको २ हजार ३८० वटा गाडी आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी यस अवधिमा नेपालले अमेरिकाबाट १ करोड ६६ लाख बराबरको ३ वटा, जर्मनबाट ३ करोड ८ लाख रुपैयाँ बराबरको ५ वटा, कोरियाबाट २३ करोड ७२ लाख रुपैयाँ बराबरको ४० वटा र इन्डोनेशियाबाट ३ करोड ४३ लाख ५५ हजार रुपैयाँ बराबरको २० वटा गाडी आयात गरेको छ ।
विभागका अनुसार यस अवधिमा आयात भएका गाडीहरुमा सबैभन्दा धेरै १०० किलोवाटसम्मका रहेका छन् । त्यस्तै माघ मसान्तसम्म ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ३९४ वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।
त्यसैगरी माघ मसान्तसम्म नेपालले ५० किलोवाटका २ हजार ६७७ वटा गाडीे आयात गरेको छ । त्यस्तै यस अवधिमा १०१ देखि २०० किलोवाटसम्मका ४३ वटा र २०१ देखि ३०० किलोवाटसम्मका १८ वटा इभि आयात भएको भन्सार विभागलको तथ्यांकमा उल्लेख छ ।