फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा, ११ जना विरुद्ध मुद्दा दायर

फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा, ११ जना विरुद्ध मुद्दा दायर

काठमाडौं : फिक्कल गाउँपालिकाका उपाध्यक्ष तथा नेकपा एमालेका नेता राजु बराल सहित ११ जना विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ ।

पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

प्रहरीले ठगी प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल पठाएको थियो । सोही फाइलको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा उपाध्यक्ष बराल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

हाल २ जनामात्रै पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भइ सहकारीको कोषाध्यक्ष पदमा रहेका ३८ वर्षीय अर्जुन थापा छन्। 

त्यसैगरी सहकारीको उपाध्यक्ष रहेका तथा सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल, अध्यक्ष अम्बरबहादुर थापा, सदस्यहरु हरिष चन्द्र माझी, माया कुमारी चौधरी, इन्द्रबहादुर थापा, सिन्धुलीको तीनपाटन–४ का ३८ वर्षीय जयकुमार बाराकोटी, तीनपाटन–६ कि ३५ वर्षीया सूर्य कुमारी पुलामी, संखुवासभाको धर्मदेवी नगरपालिका–५ का ४२ वर्षीय छबिलाल रानामगर, तीनपाटन–६ का ३० वर्षीय ओमकुमार थापालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।

उनीहरुले बचतकर्ताको ७२ लाख ३२ हजार ३५० रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। उनीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) को  ठगी गर्न नहुने अन्तगर्तको कसुरमा मुद्दा दर्ता गरिएको छ। जसमा ठगी रकम बराबरको बिगो कायम गर्दै ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ।

त्यसैगरी अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ अनुसार कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शूलक जम्मा गर्न माग समेत गरिएको छ।

थप समाचार