काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पीडित बचतकर्ताहरुको साढे ५३ करोड रुपैयाँ रकम फिर्ता गरेको छ । कार्यालयले समस्याग्रस्त सहकारीका एक हजार १०६ पीडितलाई ५३ कराेड ६९ लाख ३४ हजार २५६ रुपैयाँ बराबरको रकम फिर्ता गरेको हो ।
कार्यालयको माघ ७ गतेसम्मको प्रगति विवरण अनुसार आर्थिक वर्ष २०७९/८० सम्म समस्याग्रस्त घोषित सहकारीका १२ सहकारीका बचतकर्ताहरुको सो बराबरको रकम फिर्ता गरिएको हो ।
उक्त सहकारीविरुद्ध आवेदन दिएका पीडित बचतकर्तामध्ये ४ हजार ४३५ पीडितको तीन अर्ब ७२ करोड ५ लाख ५५ हजार १९० रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको छ ।
कार्यालयका अनुसार समस्याग्रस्त १२ सहकारी विरुद्ध ५ हजार ५४२ बचतकर्ताले ४ अर्ब २५ करोड ७५ लाख ८९ हजार ४४६ रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमध्ये कुबेर बचत तथा ऋण सहकारीका १० पीडितको ५७ लाख ६३ हजार ४७७ रुपैयाँ र स्ट्याण्डर्ड मल्टीप्रपोजको १६ बचतकर्ताको ७५ करोड २८ लाख ८२४ रुपैयाँ फिर्ता गरसकेको कार्यालयले जनाएको छ ।
कुन सहकारी पीडितले कति पाए रकम ?
कार्यालयका अनुसार स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ८१ बचतकर्ताको २ करोड ६८ लाख ५५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने ८ करोड ४० लाख ३८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध १७५ बचतकर्ताले ११ करोड ८ लाख ९३ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभका १८६ बचतकर्ताको ३६ करोड ३७ लाख ५ हजार रुपैयाँ फिर्ता गरिएको छ । भने १२ करोड ३६ लाख ९३ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । उक्त सहकारी विरुद्ध ३५२ बचतकर्ताले ४८ करोड ७३ लाख ९८ हजार ९१३ रुपैयाँ बराबरको मागदावी गरेका थिए ।
कार्यालयका अनुसार सोसाइटल बचत तथा ऋण सहकारी विरुद्ध २४० बचतकर्ताले १० करोड ८७ लाख ४१ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा १६२ बचतकर्ताको ५ करोड ९८ लाख १९ हजार रुपैयाँ फिर्ता गरिएको छ भने चार करोड ८९ लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
प्रभु बचत तथा ऋण सहकारीका २० बचतकर्ताले ३२ लाख ५७ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध १३८ बचतकर्ताले १३ करोड २० लाख ८९ हजार रुपैयाँको मागदावी गरेका छन् । ११८ बचतकर्ताको १२ करोड ८८ लाख ३२ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले चार्टड सेभिङ एण्ड क्रेडिट को –अपरेटिभको १० बचतकर्ताको ४१ लाख २३ हजार रुपैयाँ फिर्ता गरेको छ भने चार बचतकर्ताको ४२ लाख ८८ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको छ । सो सहकारी विरुद्ध १४ बचतकर्ताले ८४ लाख १ज्ञ हजार रुपैयाँको मागदावी परेको थियो ।
लुनिभा बहुउद्देश्यीय सहकारीका १०२ बचतकर्ताले ४ करोड ६५ लाख ८१ हजार रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध २१४ बचतकर्ताले ११ करोड ७४ लाख ४४हजार रुपैयाँको मागदावी गरेका छन् । ११२ बचतकर्ताको ७ करोड १८ लाख ६२ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ओरियन्टल सहकारी विरुद्ध ४ हजार २५९ बचतकर्ताले तीन अर्ब १९ करोड ५० लाख २२ हजार रुपैयाँ बराबरको मागदावी गरेका थिए । जसमा ५१९ बचतकर्ताको दुई करोड रुपैयाँ फिर्ता गरिएको छ भने तीन हजार ७४० पीडितको तीन अर्ब १७ करोड ५० लाख २२ हजार रुपैयाँ फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कञ्जुमर बचत तथा ऋण सहकारीका बचतकर्ताले तीन लाख रुपैयाँ रकम फिर्ता पाएका छन् । उक्त सहकारी विरुद्ध ५६ बचतकर्ताले चार करोड ३४ लाख ७८ हजार रुपैयाँको मागदावी गरेका छन् । बचतकर्ताको चार करोड ३१ लाख ७८ हजार रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कोहिनुर हिल सेभिङ एण्ड क्रेडिटको ५१ बचतकर्ताको २ करोड ४१ लाख ७१ हजार रुपैयाँ र भेगात बचत तथा ऋण सहकारीका १७ बचतकर्ताको एक करोड ६५ लाख ४४ हजार रुपैयाँ बराबरको बचत फिर्ता गर्न बाँकी रहेको छ ।
पशुपति सहकारी विरुद्ध एक अर्बबढीको मागदावी
सरकारले गत असार १ गते समस्याग्रस्त घोषणा गरेको पशुपति बचत तथा ऋण सहकारी संस्थाविरुद्ध हालसम्म एक अर्ब बढीको मागदावी परेको छ ।
हालसम्म उक्त सहकारी विरुद्ध ९८४ बचतकर्ताले एक अर्ब ३ करोड ८५ लाख ६४ हजार ८९ रुपैयाँ बराबरको मागदावी परेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय स्रोतले जानकारी दिएको हो । संघीय सहकारी विभागका अनुसार सहकारीमा उक्त एक अर्ब ७२ करोड निक्षेप दायित्व रहेको छ ।
यसका साथै कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारी र तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुलाई अनलाइन मार्फत मागदावी पेश गर्न सूचना जारी गरेको छ । उक्त सहकारी विरुद्ध अर्बौको दायित्व रहेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २६ गते भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । यससँगै समस्याग्रस्त सहकारीको संख्या १५ पुगेको छ ।
Advertisment