Below Menu
Below Menu

नेतृत्वविहिन बोर्डः अर्बौको धितोपत्र अलपत्र !

नेतृत्वविहिन बोर्डः अर्बौको धितोपत्र अलपत्र !

काठमाडौं : विभिन्न करिब पाँच दर्जन कम्पनीहरु प्राथमिक शेयर निष्कासनको तयारीमा रहेका छन् । सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) वैकल्पिक शेयर एफपीओ, हकप्रद, डिबेन्चर, सामुहिक लगानी कोष (म्युचुअल फण्ड) लगायतको धितोपत्र निष्कासनका लागि उक्त कम्पनीहरु नेपाल धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् ।

स्थानीय र सर्वसाधारणमा शेयर निष्कासन गर्ने अनुमतिको पखाईमा बसेका कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् भने निर्माण कम्पनी र अरु अन्य कम्पनीहरु रहेका छन् । जसमध्ये केही कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्नेछन् ।

नेतृत्वविहिन बोर्डः अर्बौको धितोपत्र अलपत्र 

नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष नहुँदा नीतिगत व्यवस्थादेखि, लाइसेन्स र आईपीओ निष्कासन लगायतका काम ठप्प भएका छन् । आईपीओ निष्कासनको तयारीमा रहेका करिब ५ दर्जन कम्पनीको अनुमति रोकिएको हो ।

सेबोनका अनुसार विभिन्न कम्पनीहरुको २३ अर्ब ४९ करोड ३ लाख ५४ हजार ६५ रुपैयाँ बराबरको १४ करोड ७६ लाख ९७ हजार ३८२ कित्ता धितोपत्रको अनुमति रोकिएको हो । 

बोर्डका अध्यक्ष हमालको कार्यकाल गत पुस २१ गते सकिएको छ । अध्यक्ष हमालको पदावधि सकिएसँगै करिब २४ दिनदेखि पद रिक्त छ । अध्यक्ष नहुँदा धितोपत्र लगायत दैनिक कार्य सञ्चालन प्रभावित भएको छ ।

अर्थ मन्त्रालयले गत माघ ८ गते मन्त्री स्तरीय निर्णय गरी सेबोनको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिएको छ । अर्थमन्त्रालयले अधिकारीलाई बोर्डको दैनिक प्रशासनिक कामको नेतृत्वदेखि बोर्ड सञ्चालक समितिको बैठकसमेत बोलाउन सक्ने अधिकार दिइएको छ ।

मन्त्रालयले उनलाई नीतिगत निर्णय गर्ने अधिकार नदिएपछि आईपीओ निष्कासनको तयारीमा रहेका दर्जनौं कम्पनीहरुको प्रक्रिया पाइपलाइनमै रोकिएको छ ।

पाइपलानमा ५६ कम्पनी

बोर्डको नेतृत्व नहुँदा माघ १८ गतेसम्ममा ५६ वटा कम्पनीको प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढ्न सकेको छैन । सेबोनका अनुसार आईपीओ निष्कासनको पाइपलाइनमा मात्रै २९ ओटा कम्पनी छन् ।

त्यसैगरी हकप्रद हेयर जारी गर्न ९ वटा कम्पनी पाइपलाइनमा छन् भने वैकल्पिक सर्वसाधारण सेयर (एफपीओ) ५ ओटा, डिबेन्चर ५ ओटा र सामूहिक लगानी कोषका ७ ओटा कम्पनीको अनुमति रोकिएको छ ।

अनुमतिको पर्खाइमा अधिकांश हाइड्रोपावर

सर्वसाधारणमा आईपीओ जारी गर्न अनुमति कुरेर बसेका अधिकांश कम्पनीहरु हाइड्रोपावर रहेका छन् । यस अवधिमा यामलिङ हाइड्रोपावर, विकास हाइड्रोपावर, रिज लाइन इनर्जी, लाफिङ बुद्ध पावर नेपाल, बेनी हाइड्रोपावर, सानिमा हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सान्भी इनर्जी, हिम स्टार उर्जा कम्पनी, रिचेत जलविद्युत कम्पनी, मबिलुङ इनर्जी, टक्सार पिखुवाखोला हाइड्रोपावर र दरमखोला हाइड्रोपावर कम्पनी रहेका छन् । 

अध्ययन समिति गठन, अझै भएन छनौट

सरकारले गत माघ ३ गते  धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सुझाब समिति गठन गरेको छ । बोर्डको अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिअनुसार अध्यक्ष चयनको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति  गठन भएको थियो । 

धितोपत्र सम्बन्धी ऐन २०६३ मा बोर्डको अध्यक्ष नियुक्तीका लागि सुझाब समिति गठन गर्दा अर्थमन्त्रालयका सचिव र धितोपत्र बजारसँग सम्बन्धित विशेषज्ञ रहनुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिमका व्यक्तिहरू सहभागी गराई सरकारले सुझाब समिति गठन गरेको हो ।

तर, गठित समितिले अझै छनोट प्रक्रियाको पहिलो चरण पनि सुरु गरेको छैन । बोर्डको अध्यक्षको छनोट तथा सिफारिससम्बन्धी कार्यविधिमा बोर्डको रिक्त अध्यक्ष पदपूर्तिको लागि १५ दिनको म्याद राखी राष्ट्रिय स्तरको दैनिक पत्रिकामा दुई पटक सूचना निकाल्नुपर्ने उल्लेख छ । 

बोर्डको अध्यक्षका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको अनुभव आवश्यक हुने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा गरिएको छ । 

Advertisment

थप समाचार