काठमाडौं : नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्म देशको सार्वजनिक ऋण २३ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ पुगेको हो ।
गत असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब २५ करोड रहेको सार्वजनिक ऋण चालु आवको छ महिना अर्थात पुस मसान्तसम्म आइपुग्दा ८५ अर्ब १३ करोड रुपैयाँ थपिएको हो ।
यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड रुपैयाँ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चालु आवको पहिलो ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रूपैयाँ रहेको छ । जसमा आन्तरिक ऋण एक खर्ब २८ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण ३४ अर्ब २७ करोड रुपैयाँ रहेको छ ।
पुस मसान्तसम्म सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रूपैयाँ भुक्तानी पनि गरेको छ । सरकारले आन्तरिक तर्फको ५९ अर्ब ३७ करोड र बाह्य तर्फको १८ अर्ब ७ करोड रुपैयाँ बराबरको साँवा भुक्तानी गरेको हो ।
कार्यालयका अनुसार पुस मसान्तसम्म महिनामा आन्तरिक ऋणकोे ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड रूपैयाँ खर्च भएको छ भने बाह्य ऋणको ब्याज भुक्तानी गर्न चार अर्ब ९३ करोड रूपैयाँ खर्च भएको छ ।
Advertisment