काठमाडौं : हाल सञ्चालनमा रहेका विभिन्न २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा बैंकहरुले २८ अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको नाफा कमाएका छन् ।
उक्त नाफा अघिल्लो आवको तुलनामा ९.३३ प्रतिशतले कम हो । आव २०७९÷८० को पुस मसान्तसम्म बैंकहरुले ३१ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । यस पुस मसान्तसम्म आइपुग्दा अधिकांश बैंकहरुको नाफा घटेको छ ।
यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । पुस मसान्तसम्म बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा उक्त नाफा ६.२७ प्रतिशले कम हो । गत वर्षको सोही अवधिमा बैंकले तीन अर्ब ४१ करोड नाफा कमाएको थियो ।
दोस्रो त्रैमाससम्म आइपुग्दा १५ बैंकको नाफा घटेको छ भने चार वटा बैंकहरुको नाफा बढेको छ । त्यस्तै कृषि विकास बैंकले पनि नोक्सानी घटाएको छ । अधिकांश बैंकहरुको खराब कर्जा बढ्दा बैंकहरुको नाफामा असर परेको हो ।
नाफा कमाउने चार बैंक
चालु आवको दोस्रो त्रैमाससम्म चार वटा बैंकहरुको नाफा बढेको छ । पुस मसान्तसम्म हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशत, प्राइम बैंकको ३२.१३ प्रतिशत, एभरेष्ट बैंकको ७.८८ प्रतिशत, सिद्धार्थ बैंकको १५.१२ प्रतिशतले नाफा बढेको छ ।
कृषि विकास बैंकले घटायो नोक्सानी
यता कृषि विकास बैंकले भने चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा एक अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको बैंकले यस अवधिमा आइपसग्दा नोक्सानी घटाएको हो ।
पन्ध्र बैंकको नाफा ऋणात्मक
पुस मसान्तसम्म आइपसग्दा १५ बैंकको नाफा घटेको छ । यस अवधिमा नबिल बैंकको ६.२७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैैंकको २५.८८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६३ प्रतिशत, एनआईसी एशिया बैंकको ४१.८४ प्रतिशत र सानिमा बैंकको ११.४१ प्रतिशतले नाफा घटेको छ ।
त्यस्तै, एनएमबि बैैंकको नाफा २७.६२ प्रतिशतले घटेको भने प्रभु बैंकको ३९.९७ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत, ग्लोबल आईएमई बैंकको २६.६ प्रतिशत र माछापुच्छ्रे बैंकको नाफा २१.४४ प्रतिशतले घटेको छ ।
त्यसैगरी यस अवधिमा नेपाल एसबिआई बैंकको २८.६ प्रतिशत, कुमारी बैंकको १४.३१ प्रतिशत, सिटिजन बैंकको ६.९६ प्रतिशत, नेपाल बैंकको ४९.५९ प्रतिशत र लक्ष्मी सनराइज बैंकको नाफा १.६६ प्रतिशतले नाफा घटेको विवरणले देखाएको छ ।

Advertisment