Below Menu
Below Menu

पुसमा ५७ करोडले घट्यो विदेशी लगानी, करिब दुई अर्ब मात्रै प्रतिवद्धता 

पुसमा ५७ करोडले घट्यो विदेशी लगानी, करिब दुई अर्ब मात्रै प्रतिवद्धता 

काठमाडौं : चालु आर्थिक वर्षको पुस महिनामा नेपालमा आउने वैदेशिक लगानी घटेको छ । गत मंसिरको तुलनामा उक्त लगानी करिब ५७ करोड २३ लाख रुपैयाँले घटेको हो ।

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको विदेशी लगानीमा गत मंसिरमा केही सुधार देखिएपनि पुसमा भने फेरी घट्न पुगेको छ । सरकारको नीतिका र लगानीको वातावरण बन्न नसक्दा विदेशी लगानीमा अस्थिरता देखिएको हो ।

उद्योगको विभागको पछिल्लो तथ्यांकले पुस महिनामा साढे एक अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ । यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ३४ उद्योगका लागि एक अर्ब ९८ करोड ९५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत मंसिर महिनाको तुलनामा २२.३४ प्रशितले कम हो । जबकी मंसिरमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी २६ उद्योगका लागि दुई अर्ब ५६ करोड १९ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो ।

पुसमा विदेशी लगानीका २७ नयाँ उद्योगका लागि एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका सात उद्योगका लागि २६ करोड ३६ लाख ५० हजार रुपैयाँ प्रतिवद्धता आएको हो ।

चालु आवको पुस मसान्तसम्म २५४ नयाँ उद्योग लागि २६ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसमा एसपीए र एसएसएका २८ उद्योगका लागि चार अर्ब एक करोड तीन लाख नौ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । 

पुस मात्र दर्ता भएका उद्योगमा दुई हजार ४७ जनाले रोजगारी पाउने भएका छन् भने ५ महिनामा दर्ता भएका उद्योगमा १२ हजार १६७ जनालाई रोजगारी प्रस्ताव गरिएको हो । 

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग २११ वटा, मझौला उद्योग १२ वटा र ठूला उद्योग तीन वटा रहेका छन् । पुसमा मात्रै विदेशी लगानीका साना उद्योग २२ र मझौला उद्योग पाँच वटा दर्ता भएको छ ।

विभाग अनुसार पुस मसान्तसम्म सूचना प्रविधि क्षेत्रका सात वटा, निर्माण क्षेत्रका २३ वटा, सेवामुलक क्षेत्रका ८३, खनिज क्षेत्रका दुई, पर्यटन क्षेत्रका १०३ उद्योग दर्ता भएका छन् ।

त्यस्तै यस अवधिमा कृषि क्षेत्रका चार र पूर्वाधार क्षेत्रका चार र वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा जलविद्युत क्षेत्रमा भने लगानी आएको छैन ।

यस अवधिमा विदेशी लगानीकर्ताहरुले एक अर्ब ५३ करोड ६५ लाख ३० हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार पुस  मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

यस अवधिमा लगानी कर्ताहरुले रोयल्टी मार्फत एक अर्ब चार करोड १६ लाख ८६ हजार रुपैयाँ, आठ लाख अमेरिकी डलर र १३ करोड ९१ लाख ७९ हजार रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

Advertisment

थप समाचार