Below Menu
Below Menu

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजारसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देश गरिएको जनाएका छन् ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ । 

उन्नाइस सदस्यीय पदका लागि हुने निर्वाचनका लागि सातै प्रदेशमा ५१ उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिबार निर्वाचन चिन्ह वितरण गरिसकेको छ ।

Advertisment

थप समाचार