Below Menu
Below Menu

कोशी प्रदेशको आर्थिक गतिविधि: साढे ५ खर्बको कर्जा प्रवाह, ४९ प्रतिशतले रोजगारी कटौती

कोशी प्रदेशको आर्थिक गतिविधि: साढे ५ खर्बको कर्जा प्रवाह, ४९ प्रतिशतले रोजगारी कटौती

काठमाडौं : नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को यस प्रदेशको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो ।  

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.७९ प्रतिशत हुने अनुमान रहेको छ । गत आर्थिक वर्षमा यस प्रदेशको हिस्सा १५.८३ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशको आर्थिक वृद्धि २ प्रतिशत रहने अनुमान रहेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धि ५.४७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७९/८० मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा २१.५१ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क कार्यालयको अनुमान छ भने उद्योग क्षेत्रको उत्पादनमा २०.१२ प्रतिशत र सेवा क्षेत्रमा १२.६३ प्रतिशत योगदान रहने अनुमान गरेको छ ।

अघिल्ला वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा कोशी प्रदेशको हिस्सा क्रमशः २१.५५ प्रतिशत, १९.९३ प्रतिशत र १२.५८ प्रतिशत रहेको थियो । कृषि तर्फ आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मकै, गहँु, कोदो र फापरले ढाकेको क्षेत्रफल बढेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल बढेको देखिन्छ ।

समग्र कृषि उपजले ढाकेको क्षेत्रफल मध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.९ प्रतिशत, तरकारी बालीको ५ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.१ प्रतिशत रहेको छ । कृषि उपजले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७२ प्रतिशत रहेको छ ।

यस प्रदेशमा समग्र कृषि बालीको उत्पादन १.८ प्रतिशतले बढेको छ । विशेष गरी खाद्य बाली अन्तर्गत धान ५.७ प्रतिशत, मकै २.९ प्रतिशत, गहुँ १.५ प्रतिशत, कोदो ११.२ तथा चिया १२.५ प्रतिशतले बढेकाले समग्र कृषि बालीको उत्पादन बढेको देखिन्छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा तरकारीको उत्पादन ०.२ प्रतिशत, फलफुलको ०.८ प्रतिशत, कफीको ६.१ प्रतिशत तथा महको ८७.६ प्रतिशतले बढेको छ भने मसलाको उत्पादन ०.४ प्रतिशतले घटेको छ । यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३७.३ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ३६.७ प्रतिशत रहेको थियो ।

कोशी प्रदेशमा कुल सिञ्चित क्षेत्रफल १.७ प्रतिशतले बढेको छ । कोशी प्रदेशमा दुध उत्पादन १४ प्रतिशत तथा मासु उत्पादन १४.५ प्रतिशतले घटेको छ । भने अण्डा उत्पादन १.७ प्रतिशत तथा माछा उत्पादन ९.१ प्रतिशतले बढेको छ । त्यस्तै काठको उत्पादन १९.२ प्रतिशतले बढेको छ । निजि बनहरुको कटानका लागि दिइएको स्वीकृतिका कारण काठको उत्पादनमा वृद्धि भएको देखिन्छ ।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जा १२.२ प्रतिशतले वृद्धि भई रु.६१ अर्ब १९ करोड २६ लाख १० हजार पुगेको छ । २०८० असार मसान्तसम्म कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ११.० प्रतिशत रहेको छ ।

उद्योगतर्फ यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७८/७९ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको थियो ।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा इँटा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९१.२ प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.७ प्रतिशत रहेको छ । नमुना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५४.७ प्रतिशत रहेको छ । 

यस अध्ययनमा समेटिएका उद्योगहरुको उत्पादनमध्ये इँटाको उत्पादन सबैभन्दा बढी ३४२.५ प्रतिशतले बढेको छ भने भटमासको तेलको उत्पादन सबैभन्दा बढी ५१.९ प्रतिशतले घटेको छ । अध्ययनमा समेटिएका ठुला ४२ उद्योगहरुमा आर्थिक वर्ष २०७८/७९ मा कुल १७,२७० जना श्रमिक कार्यरत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १७.८ प्रतिशत नयाँ श्रमिकले रोजगारी पाएर २०,३४४ जना कार्यरत रहेका छन्। 

आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा टायर तथा ट्युव उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी ४९ प्रतिशतले रोजगारी कटौती भएको छ भने बनस्पती घिउ उत्पादन गर्ने उद्योगहरुमा सबैभन्दा बढी १४४ प्रतिशतले रोजगारीमा वृद्धि भएको छ । आव.२०७८/७९ मा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ९३.३ प्रतिशत स्वदेशी र ६.७ प्रतिशत विदेशी कामदारहरुले रोजगारी प्राप्त गरेका थिए भने समीक्षा वर्षमा कुल औद्योगिक रोजगारीमा स्वदेशी र विदेशी कामदारको सहभागिता क्रमशः ८३.२ प्रतिशत र १६.८ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कुल औद्योगिक कर्जा ६.६४ प्रतिशतले बढेर रु.१ खर्ब २९ अर्व कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा १६.५ प्रतिशतले घटेको थियो । सेवा तर्फ असार मसान्तमा यस प्रदेशमा वाणिज्य बैंकका ७६१, विकास बैंकका १९४, वित्त कम्पनीका ३६ तथा लघुवित्त वित्तीय संस्थाका ८७२ गरी जम्मा १,८६३ शाखा पुगेका छन् । 

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन १५ प्रतिशतले वृद्धि भई रु.४ खर्ब २१ अर्ब र प्रवाह गरेको कर्जा २.५ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ५७ अर्ब पुगेको छ । २०७९ असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात १४८.४ प्रतिशत रहेकोमा २०८० असार मसान्तमा यस्तो अनुपात १३२.३० प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा होटलहरुको औसत अकुपेन्सी दर ३६.८ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.५ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर ३५.३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा यस प्रदेशका होटलहरुमा आन्तरिक पर्यटकको संख्या ६२.९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४८.१ प्रतिशतले बढेको थियो ।

आ.व. २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या ४३.७ प्रतिशतले बढेको छ । २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८.२ प्रतिशत, बचत निक्षेपको अंश ३९.६२ प्रतिशत, मुद्दती निक्षेपको अंश ४६.३३ प्रतिशत र अन्य निक्षेपको अंश ५.८५ प्रतिशत रहेको छ ।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी २.१ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी १२.७ प्रतिशतले वृद्धि भएको थियो । असार मसान्तको तुलनामा २०८० असार मसान्तसम्म यस प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या ३.९ प्रतिशतले वृद्धि भई ८ लाख ०३ हजार ६ सय ९९ पुगेको छ । 

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा कोशी प्रदेशमा सरकारी÷सामुदायिक विद्यालय, संस्थागत÷निजी र प्राविधिक शिक्षालयको समग्रमा कुल संख्या ८ वटा बढेर ७,०८१ विद्यालय सञ्चालनमा रहेका छन् । असार मसान्तसम्म कोशी प्रदेशमा सरकारी र निजी गरी कुल अस्पताल संख्या १६४ रहेका छन् । गतअसार मसान्तमा यस्ता अस्पतालको संख्या १५८ रहेको थियो ।

प्ूार्वाधार तर्फ आर्थिक वर्ष २०७९/८० मा १४५.१ मे.वा. उत्पादन क्षमता भएका ७ वटा विद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै यस प्रदेशको कुल विद्युत उत्पादन क्षमता ४४७.८ मेवा पुगेको छ । मदन भण्डारी लोकमार्गको दोस्रो खण्ड (उदयपुर, सिन्धुली) अन्तर्गतको १३५ कि.मी. सडक निमार्ण कार्य तथा कोशी करीडोर अन्तर्गत तुम्लिङटार–वानेश्वर–वसन्तपुर–इनरुवा गरी ४ वटा सव स्टेशन निमार्ण कार्य अन्तिम चरणमा रहेको छ ।

Advertisment

थप समाचार