काठमाडौं : नेपाल राष्ट्र बैंकले विभिन्न कोषको करिब २३ करोड रुपैयाँ बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै विभिन्न कोषको २२ करोड ९१ लाख रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।
कोषको उक्त रकम माघ २ गतेदेखि २०८१ माघ १ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ ।
बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४२ करोड ४० लाख , ‘ख’ वर्गका विकास बैंकमा ४५ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १५ करोड १५ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।
त्यस्तै, बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १८ करोड ३३ लाख, ‘ख’ वर्गका विकास बैंकहरुमा तीन करोड ४४ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा एक करोड १४ लाख रुपैयाँ मुद्दति निक्षेप मार्फत लगानी गर्न लागेको हो ।
बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।
त्यस्तै, निष्क्रिय कर्जा कसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी पुस २० गते राती १२ बजेभित्र आवेदन दिन आग्रह गरेको छ ।
Advertisment