काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारका लागि पेशी तोकिएको छ ।
गर्भनर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई नियुक्त गरिएको भन्दै गत कात्तिक ३ गते अदालतमा रिट परेको थियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन योग्यउ नरहेको भन्दै अधिवक्ता दिपकराज जोशी सहित तीन चार जनाले रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिकारीको नियुक्त तत्काल बदर गर्न माग गर्दै परेको रिटमा अदालत प्रशासनले शुक्रबार (भोलि)का लागि पेशी तोकेको हो ।
नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा २० को व्यवस्थाअनुसार गभर्नर पदमा नियुक्त हुनका लागि नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख भएको हुनपर्नेछ ।
गभर्नर अधिकारीले अर्थ मन्त्रालयमा बुझाएको व्यक्तिगत विवरण (बायोडाटा) मा स्नातक तह मात्रै पास भएको विवरण पेस रिटमा दावी छ । सन् १९८९ मा काठमाडौंको मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेको र भारतको एक चाटर्ड एकाउन्टेन्ट पढाइ हुने कलेजबाट सन् १९९३ मा ‘सीए’ पढाइ सकेको उल्लेख छ । निवेदकले चाटर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर मान्न नसकिने जिकिर गरेका छन् ।
‘ऐनले स्पष्ट स्नातकोत्तर उपाधि भनेपछि सो सरहको उपाधि देखाई नेपालको प्रमुख बैंकको प्रमुख व्यक्तिको रुपमा नियुक्त हुन कसरी पाइन्छ ? विधायीकी मनसाय भनेको सो सरहलाई गभर्नर बनाउने पक्कै होइन’, रिट निवेदनमा भनिएको छ ।
Advertisment