काठमाडौं : पछिल्लो समय पर्यटन क्षेत्रमा देखिएको सुधारले पनि बैंकहरुले लगानी बढ्न थालेको छ । कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अहिले उत्साहित बनेको छ भने पर्यटन आवागमनमा पनि उल्लेख्य सुधार भएको छ ।
पर्यटन क्षेत्र चलायमान बन्दै गएपछि होटल तथा यससँग सम्वन्धित पूर्वाधार निर्माणका कामहरुपनि धमाधम अघि बढेका छन् । पर्यटन पूर्वाधार निर्माणमा आएको बढोत्तरीले पनि बैंकहरुको कर्जा लगानी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सवा दुई खर्ब लगानी गरेका छन् । यस अवधिमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब २१ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेका हुन् ।
गत आवको सोही अवधिको तुलनामा पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १४ अर्ब ९८ करोड रुपैयाँ अर्थात ७.२५ प्रतिशतले बढेको छ । आव २०७९/८० को कात्तिक मसान्तसम्म बैैंक तथा वित्तीय संस्थाले होटल तथा पर्यटन क्षेत्रमा २ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
वाणिज्य बैंकको लगानी ११ अर्बले बढ्यो
राष्ट्र बैंकका अनुसार यस अवधिमा होटल तथा पर्यटन क्षेत्रमा वाणिज्य बैंकहरुले मात्रै एक खर्ब ९० अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ६.५८ प्रतिशतले बढी हो ।
गत आवको सोही अवधिमा एक खर्ब ७८ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले यस अवधिमा सो क्षेत्रको लगानी ११ अर्ब ७८ करोड रुपैयाँले बढाएका हुन् ।
त्यसैगरी यस अवधिमा होटल तथा पर्यटन क्षेत्रमा विकास बैंकहरुले २५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गर्दा फाइनान्स कम्पनीले ४ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
कुन बैंकले कति गरे लगानी ?
चालु आवको कात्तिक मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा नेपाल बैंकले ८ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १२ अर्ब ९९ करोड ९८ लाख रुपैयाँ लगानी गर्दा नबिल बैंकले १० करोड ५७ लाख ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
त्यसैगरी कात्तिक मसान्तसम्म होटन तथा पर्यटन क्षेत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दाबढी २४ अर्ब १४ करोड २६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्डले एक अर्ब ३० करोड ५६ लाख, हिमालयनले ११ अर्ब ३५ करोड ५९ लाख, नेपाल एसबिआईले ६ अर्ब ६५ करोड ८० लाख र एभरेष्ट बैंकले १३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
चालु आवको चार महिनामा एनआईसी एशिया बैंकले पर्यटन क्षेत्रमा ६ अर्ब ७५ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकले ४ अर्ब ६९ करोड ६३ लाख, कुमारीले १४ अर्ब ९६ करोड ६६ लाख, लक्ष्मी सनराइजले ९ अर्ब ६९ करोड ४१ लाख र सिद्धार्थ बैंकले ७ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कर्जा लागनी गरेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा कृषि विकास बैंकले ४ अर्ब ७० करोड ७५ लाख, ग्लोबल आईएमईले १५ अर्ब ६३ करोड ६ लाख, सिटिजन इन्टरनेशनल बैंकले २ अर्ब ८६ करोड ६४ लाख प्राइम बैंकले १५ अर्ब ७४ करोड १९ लाख, एनएमबिले ७ अर्ब ३१ करोड ५५ लाख प्रभुले १७ अर्ब ३८ करोड ३४ लाख र सानिमा बैंकले ५ अर्ब २३ करोड ९६ लाख रुपैयाँ पर्यटन क्षेत्रमा लगानी गरेका छन् ।
निजी क्षेत्रमा साढे ४७ खर्ब कर्जा लगानी
राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ८१ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
जसमा निजी क्षेत्रमा ४७ खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । त्यसैगरी यस अवधिमा वित्तीय संस्थामा एक खर्ब ८७ अर्ब ५९ करोड र सरकारी संस्थामा ६ अर्ब १३ करोड कर्जा लगानी भएको छ ।
Advertisment