काठमाडौं : नेपाल राष्ट्र बैंकले एक महिना नपुग्दै बजारबाट एक खर्ब ७० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि बजार बैंकले लगातार रुपमा पैसा उठाउन लागेको हो ।
राष्ट्र बैंकले गत मंसिर ६ गतेदेखि पुस ३ गतेसम्म एक खर्ब ४५ अर्ब रुपैयाँ उठाईसकेको छ भने पुस ४ गते १४ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप उठाउन सूचना प्रकाशित गरेको छ । बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने गर्छ भने र बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्छ ।
ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तरबैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने हुन्छ । निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्ने व्यवस्था रहेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता बढिरहेको छ अन्तर बैंक ब्याजदर २.७२ प्रतिशत रहेको छ । राष्ट्र बैंकले बजारबाट ६० खर्ब १६ अर्ब रुपैयाँबढी निक्षेप थुप्रिएको छ भने सिडि रेसियो ७९.८९ प्रतिशतमा झरेको छ ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस १८ गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
Advertisment