काठमाडौं : सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म शेयर बजारबाट एक अर्बबढी पुँजीगत लाभकर उठाएको छ । लगानीकर्ताले साउनदेखि मंसिरसम्म सरकारलाई एक अर्ब १५ करोड १९ हजार ८०३ रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् ।
लामो समयदेखि शेयर बजारमा आएको उतारचढावसँगै घट्दै गएको पुँजीगत लाभकर मंसिरमा भने बढेको पाईएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आयार्चका अनुसार मंसिर महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ३० करोड ५३ लाख २४ हजार ७८२ रुपैयाँ उठाएको छ ।
उक्त रकम गत कात्तिक महिनाको तुलनामा करिब तीन गुणाले बढी हो । कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर बुझाएका लगानीकर्ताले मंसिरमा २२ करोड ११ लाख ७० हजार २१८ रुपैयाँ अर्थात २६२.८१ प्रतिशत बढी बुझाएका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लिएको लचक नीतिका कारण बजार बढेसँगै त्यसको लाभ सरकारले लिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर धितो कर्जाको जोखिम भार १२५ मा झारेसँगै लामो समयदेखि निरन्तर ओरालो लागेको बजार लयमा फर्किएको छ ।
शेयर बजार बढेसँगै पूँजीगत लाभकरमा पनि वृद्धि भएको सिडिएसले जनाएको छ । सिडिएसका अनुसार दीर्घकालीन लगानीकर्ताबाट मंसिरमा ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, कात्तिकमा २ करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन भएको छ ।
त्यस्तै असोजमा ५ करोड ५१ लाख ६० हजार, भदौमा ५ करोड ६७ लाख ६२ हजार रुपैयाँ र साउनमा १० करोड १५ लाख ८५ हजार रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको छ ।
यस्तै अल्पकालीन लगानीकर्ताले मंसुरमा १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, कात्तिकमा ४ करोड ६० लाख ४१ हजार, असोजमा १४ करोड ९८ लाख ३३ हजार, भदौमा ७ करोड ६६ लाख ५ हजार र साउनमा २२ करोड ४७ लाख १२ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
त्यसैगरी संस्थागत लगानीकर्ताबाट पनि मंसिरमा ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको सीडीएसले जनाएको छ ।
संस्थागत लगानीकर्ताले कात्तिकमा १ करोड ११ लाख रुपैयाँ असोजमा एक करोड ४५ लाख ८५ हजार रुपैयाँ, भदौमा ६७ लाख रुपैयाँ र साउनमा सात करोड ४५ लाख ९४ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएको सिडिएसको तथ्यांकमा उल्लेछ ।
कुन महिनामा कति उठ्यो पुँजीगत लाभकर
सिईओ आचार्यका अनुसार सरकारले चालु आवको साउनमा शेयर बजारबाट ४० करोड ८ लाख ९१ हजार ७८६ रुपैयाँ पुँजीगत लाभकर उठाएको थियो । साउनको तुलनामा मंसिरमा आइपुग्दा उक्त लाभकर ९ करोड ५५ लाख ६७ हजार अर्थात २३.८३ प्रतिशतले घटेको छ ।
त्यस्तै, लगानीकर्ताहरुले भदौमा सरकारलाई १४ करोड ६९ हजार रुपैयाँ र असोजमा २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ र कात्तिकमा ८ करोड ४१ लाख ५४ हजार ५६६ रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् ।
शेयर खरिद बिक्रीमा पुँजीगत लाभकरको नयाँ व्यवस्था अनुसार सरकारले शेयर कारोबारमा अल्पकालीन लगानीकर्तालाई साढे सात प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई पाँच प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ ।
Advertisment