Below Menu
Below Menu

विदेशी लगानीमा सुधारः २४ अर्बको प्रतिवद्धता हुँदा, करिब चार अर्ब लिए नाफा 

विदेशी लगानीमा सुधारः २४ अर्बको प्रतिवद्धता  हुँदा, करिब चार अर्ब लिए नाफा 

काठमाडौं : विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित बनेको वैदेशिक लगानीमा पछिल्लो समय सुधार देखिएको छ । सरकारको नीति र लगानीको वातावरण बन्न नसक्दा निरन्तर खुम्चिदै गरेको नेपालमा आउने विदेशी लगानी फेरी बढ्न थालेको छ ।

उद्योगको विभागको पछिल्लो तथ्यांकले नेपालमा आउने वैदेशिक लागनी प्रतिवद्धता बढ्न थालेको देखाएको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा साढे दुई अर्ब रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको छ ।

यस अवधिमा नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए)  मा गरी २६ उद्योगका लागि दुई अर्ब ५६ करोड १९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

उक्त लगानी गत कात्तिक महिनाको तुलनामा ४१.८३ प्रशितले बढी हो । जबकी कात्तिकमा   नयाँ उद्योग र सेयर पर्चेज एग्रिमेन्ट (एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) मा गरी ४२ उद्योगका लागि एक अर्ब ८० करोड ६३ लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो ।

मंसिरमा विदेशी लगानीका २१ नयाँ उद्योगका लागि दुई अर्ब २५ करोड ६२ लाख ७५  हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ भने एपीए र एसएसएका २ उद्योगका लागि ३० करोड ५७ लाख रुपैयाँ प्रतिवद्धता आएको हो ।

चालु आवको मंसिर मसान्तसम्म २४७ नयाँ उद्योग लागि २४ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । जसमा एसपीए र एसएसएका २१ उद्योगका लागि ३ अर्ब ७४ करोड ६६ लाख ५९ रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

मंसिरमा मात्र दर्ता भएका उद्योगमा एक हजार ३५० जनाले रोजगारी पाउने भएका छन् भने पाँच महिनामा दर्ता भएका उद्योगमा १० हजार १२० जनालाई रोजगारी प्रस्ताव गरिएको हो ।

यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १८९ वटा, मझौला उद्योग ७ वटा र ठूला उद्योग तीन वटा रहेका छन् । मंसिर मात्रै विदेशी लगानीका साना उद्योग १९ र मझौला उद्योग दुई वटा दर्ता भएको छ ।

विभाग अनुसार मंसिरमसान्तसम्म सूचना प्रविधि क्षेत्रका ५ वटा, निर्माण क्षेत्रका १९ वटा, सेवामुलक क्षेत्रका ७४, खनिज क्षेत्रका एउटा, पर्यटन क्षेत्रका ९५ उद्योग दर्ता भएका छन् । त्यस्तै यस अवधिमा कृषि क्षेत्रका एउटा र जलविद्युत क्षेत्रका चार वटा उद्योग दर्ता भएका छन् ।

यस अवधिमा विदेशी लगानीकर्ताहरुले तीन अर्ब ७४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको लाभांश लैजान प्रस्ताव गरेका छन् । विभागका अनुसार मंसिर मसान्तसम्म विदेशी लगानीमा सञ्चालित उद्योगबाट भएको नाफा वापत सो बराबरको लाभांश लैजान प्रस्ताव गरेका हुन् ।

यस अवधिमा लगानी कर्ताहरुले रोयल्टी मार्फत एक अर्ब २ करोड ६५ लाख ८६ हजार रुपैयाँ, ६ लाख ९२ हजार अमेरिकी डलर र १३ करोड ८६ लाख रुपैयाँ रोयल्टी लैजान प्रस्ताव गरेको विभागको तथ्यांकमा उल्लेख छ । 

Advertisment

थप समाचार