Below Menu
Below Menu

बजारबाट लगातार तरलता खिच्दै राष्ट्र बैंक, १६ दिनमै उठायो ८० अर्ब  

बजारबाट लगातार तरलता खिच्दै  राष्ट्र बैंक, १६ दिनमै  उठायो ८० अर्ब  

काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन साता नपुग्दै बजारबाट ८० अर्ब रुपैयाँ निक्षेप उठाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदै गएपछि १६ दिनमै बैंकले छैठौं पटक बजारबाट पैसा उठाउन लागेको हो ।

राष्ट्र बैंकले गत मंसिर ६ गते देखि २० गतेसम्म ५५ अर्ब रुपैयाँ उठाईसकेको छ भने मंसिर २१ गते १४ दिनका लागि २५ अर्ब रुपैयाँ निक्षेप उठाउन सूचना प्रकाशित गरेको छ  । बैंक छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा रिपो मार्फत बजारमा पैसा पठाउने गर्छ भने र बैकिङ प्रणालीमा तरलता थुप्रिदै गएपछि त्यसलाई व्यवस्थापन गर्न बैंकले रिर्भस रिपो मार्फत तरलता खिच्ने गर्छ ।

ब्याजदर करिडोरसम्बन्धी कार्यविधिअनुसार अन्तरबैंक ब्याजदर बैंक दरभन्दा बढी भएको अवस्थामा राष्ट्र बैंकले रिपो जारी गर्नुपर्ने हुन्छ । निक्षेप संकलन दरभन्दा अन्तरबैंक ब्याजदर कम हुँदा निक्षेप संकलन गर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता बढिरहेको छ अन्तर बैंक ब्याजदर बैंकले तोकेको निक्षेप संकलन दर भन्दा तल रहेको छ । राष्ट्र बैंकले बजारबाट ५५ अर्ब रुपैयाँ उठाउँदासमेत अन्तरबैंक ब्याजदर १.०३ प्रतिशत रहेपछि राष्ट्र बैंकले १४ दिन अवधिका थप २५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी पुस ५ गते हुने बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्नेछन् ।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बिहिबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
 

Advertisment

थप समाचार