पाटन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखेका हुन् ।
“साना साना कामहरुमा सुधार गरेर ठूला लक्ष्यलाई सहयोग पुग्नेगरी काम गर्न जरुरी छ । हामीले तत्काल जनतालाई सेवा प्रवाह गर्नेमा सुधार गर्नु जरुरी छ । जनताले यो वाद र त्यो वादभन्दा पनि सेवा प्रवाहमा सुधारको अपेक्षा राख्छन् । जनताले प्रत्यक्ष रुपमा सेवा प्रवाहको अनुभूत गरेन भने राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रप्रति पनि भरोसा कमजोर हुँदै जान्छ”, प्रधानमन्त्री दाहालले भने।
सेवामा सुधार देखेनन भने जनतालाई फिलोसोफी र आइडोलोजीको मतलब नहुने बताउँदै उनले सेवा र विकासको आधारमा जनताले सरकारप्रति सन्तुष्टि वा असन्तुष्टि जाहेर गर्ने बताए । ‘त्यही सन्तुष्टि र असन्तुष्टिमा राजनीतिक चलखेल हुने गर्दछ। सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लागि पुरै प्रयास जारी राखेको छ। तर जनता पुरै सन्तुष्ट हुने ठाउँमा पुगेका छैनन। अर्थतन्त्र सुधारतर्फ उन्मुख त छ तर दवावमुक्त भैसकेको छैन’, उनले भने ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा राष्ट्रको प्रतिष्ठा बढाउने जमर्को गरिरहेको उनले दावी गरे । साथै उनले रणनीतिक र तत्कालीन रूपमा गर्ने कामको ठोस कार्यसुची तयार गर्न समेत अनुरोध गरे । ‘मलाई लाग्छ हाम्रो देशको ब्युरोक्रेसी संसारकै अब्बल छ, व्यवसायिक छ, दक्ष र अनुभवी छ तर परिणाम निकाल्ने कुरामा राजनैतिक नेतृत्व र ब्युरोक्रेसीबीचमा कहीँ न कहीँ अझै तादाम्यता मिलेको छैन। त्यसलाई कसरी हल गर्ने ब्युरोक्रेसीको पूर्व र वर्तमान नेतृत्वले छलफल गरी निष्कर्ष पेश गर्नुहुनेछ।’
उनले तत्काल सेवा प्रवाह गर्ने कुरालाई केन्द्रित गरेर जनतालाई सेवा दिन सकिने गरी विद्यमान प्रणालीमा सुधारका लागि लाग्न पनि कर्मचारी संयन्त्रलाई आह्वान गरे । प्रधानमन्त्री दाहालले अरू देशका भन्दा हाम्रा कर्मचारी सक्षम छन् भन्ने लागेको भए पनि परिणाम निकाल्न भने नसकिरहेको अवस्था विद्यमान रहेको स्पष्ट गरे । उनले भने, “हामीले गर्न खोजिरहेका छौँ, गरिरहेका पनि छौँ तर हाम्रा कामबाट जनताले लाभ लिन सकिरहेका छैनन्, हाम्रो कार्यप्रणालीप्रति जनताको गुनासो छ । धेरै कुराको ‘ग्याप’ छ त्यसलाई समाधान गर्नेतर्फ यो अन्तरक्रिया कार्यक्रम केन्द्रित हुनेछ भन्ने विश्वास छ ।”
मुलुकको कर्मचारीतन्त्रप्रति जनताको भरोसा रहेकाले नै सानासाना कुरामा परिवर्तनको महसुस गरेर सेवा प्रवाहबाट नागरिकले सन्तुष्टि लिनसक्नुपर्ने प्रधानमन्त्री दाहालले बताए ।
पन्ध्रौँ योजनाको समीक्षा गरेर १६औँ योजनाको तयारीमा रहेको अवस्थामा गरिएको यो अन्तरक्रिया महत्वपूर्ण हुने धारणा उनले राखे। सरकारले प्रयास गरेअनुसार जनता सन्तुष्ट हुनेगरी काम भएको छैन भन्दै प्रधानमन्त्री दाहालले सेवा प्रवाह जनतालाई सन्तुष्ट पार्ने तहसम्म पु¥याउन सक्नुपर्नेमा जोड दिए । उनले आफूले पनि राष्ट्रको इज्जत प्रतिष्ठा बढाउने र नयाँ गतिमा लैजाने प्रयास गरेको धारणा राखे ।
अन्तरक्रियामा मन्त्रीहरु, मुख्यसचिव, नेपाल सरकारका सचिवहरु, नेपाल राष्ट्र बैङ्कका गभर्नरलगायत नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारीहरुको सहभागिता रहेको छ ।
Advertisment