काठमाडौं : सरकारले चालू आर्थिक वर्षको मंसिर २० गतेसम्ममा ८९ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९० प्रतिशतको ब्याजदरमा नै कूल ८९ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो ।
सरकारले यस अवधिमा १२ पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण उठाएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा सरकारले यस अवधिमा विकास ऋणपत्र मार्फत सस्तो ब्याजरमा ऋण उठाएको हो । गत आवमा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाएको हो ।
चालु आवको पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड नाघेको हो ।
कार्यालयको गत कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार हालसम्म नेपालले तिर्न बाँकी आन्तरिक ऋण रू ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋण रू ११ खर्ब ७३ अर्ब ७९ करोड ६६ लाख रहेको छ ।
चालु आवको चार महिनामा सरकारले आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा रू ६५ अर्ब ४५ करोड ८३ लाख र बाह्य ऋणको साँवाब्याज भुक्तानीमा रू १६ अर्ब १८ करोड ६१ लाख बराबर भुक्तानी गरेको देखिएको छ ।
यही अवधिको ऋण प्राप्तिको अवस्था हेर्दा साउनदेखि कात्तिक मसान्तसम्ममा रू ९७ अर्ब ३१ करोड बराबर आन्तरिक ऋण र रू १५ अर्ब ८५ करोड ३० बाह्य ऋण गरी कूल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख बराबर ऋण उठाइएको छ ।
चालु आवको पहिलो चौमासिक अवधिमा सरकारले गरेको पुँजीगत खर्चभन्दा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा गरेको खर्च करिब तीन गुणाले बढी छ ।
गत कात्तिक मसान्तसम्ममा सरकारले रू २९ अर्ब ९८ करोड ९४ लाख बराबर पुँजीगत खर्च गरेको छ । यही अवधिमा सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा भने रू ८१ अर्ब ६४ करोड ४४ लाख बराबर खर्च गरेको छ ।
Advertisment