काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिदै गएको छ । तरलत रकम अधिक हुँदै गएपछि बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदर एक प्रतिशतमा झरेको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार केही दिन अघिमात्रै १.७९ प्रतिशत रहेको अन्तर बैंक ब्याजदर बुधबार १.४८ प्रतिशतमा झरेको छ । उक्त दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ भने कुल कर्जा ४९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ ।
पाँच अर्ब निक्षेप थपिदा, एक अर्ब कर्जा प्रवाह
बैंकिङ प्रणालीमा एकैदिन पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत बुधबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले एक अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
मंसिर १२ गते अर्थात मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५९ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो भने कर्जा लगानी ४९ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन पाँच अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ निक्षेप थपिएको । अघिल्लो दिनसम्म ५२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन ५ अर्ब निक्षेप बढेर ५२ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी ४४ खर्ब ७ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेपछि अन्तर बैंक कारोबारको ब्याजदरसँगै सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल बैंकहरुको सिडि रेसियो ८०.९२ बिन्दुमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्नुपर्छ । सीडी रेसियो जति कम भयो त्यती नै बैंकहरुको लगानी क्षमता त्यति नै बढी भएको मानिन्छ ।
हाल बैंकहरुसँग पर्याप्त लगानी योग्य रकम रहेको छ । बैंकहरुले ब्याजदर पनि घटाइरहेका छन् । ऋणको माग घटेपछि बैंकिङ प्रणालीमा तरलता थुप्रिदै गएको छ । तर, बैंकहरुले खुलेर लगानी गर्न सकिरहेका छैनन् ।
Advertisment