काठमाडौं : सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई हालसम्म ६ अर्ब बढी दावी भुक्तानी गरेको छ । कोषले योगदानकर्तालाई विभिन्न सुविधाको शीर्षकमा हालसम्म ६ अर्ब ४४ करोड रुपैयाँ दावी भुक्तानी गरेको हो ।
कोषले योगदानकर्ताहरुलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरि चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म कोषमा ४४ अर्ब ८५ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ ।
यस अवधिमा सबैभन्दा धेरै वृद्ध अवस्था सुरक्षा योजनामा दावी भुक्तानी गरेको कोषले जनाएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा कोषले ५ अर्ब ४८ करोड ९७ लाख ८ हजार दावी भुक्तानी दिएको छ ।
उक्त योजनामा ३७ अर्ब ३५ करोड ७१ लाख ४६ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजना मार्फत मंसिर ८ गतेसम्म ६१ हजार ३९४ वटा दावी भुक्तानी गरिएको कोषले जनाएको छ ।
यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना मार्फत ७६ करोड १ज्ञ लाख ९८ हजार रुपौयँ दावी भुक्तानी भुक्तानी भएको छ । कोषका अनुसार यस योजनामा दावी गर्नेको संख्या ४६ हजार २४६ रहेको छ भने एक लाख ४२ हजार ६४८ पटक भुक्तानी गरिएको कोषले जनाएको छ । उक्त योजनामा एक अर्ब २९ करोड २७ लाख २१ हजार रुपैयाँ याृगदान रकम संकलन भएको छ ।
त्यसैगरि दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत ८ करोड ७५ लाख ४९ हजार रुपैयाँ र आश्रित परिवार सुरक्षा योजना मार्फत भने १० करोड ९६ लाख ३४ हजार रुपैयाँ दावी भुक्तानी भएको छ । यी दुई योजनामा दुई अर्ब ४८ करोड ६२ लाख २७ हजार रुपैयाँ योगदान रकम संकलन भएको कोषले जनाएको छ ।
यस अवधिमा कोषले अतिरिक्त योगदान मार्फत एक अर्ब ५३ करोड ४० लाख ९२ हजार रुपैयाँ र प्रतिफल अन्तर्गत २ अर्ब १७ करोड ७६ लाख २६ हजार रुपैयाँ योगदान रकम संकलन गरेको छ ।
थपिँदै रोजगारदाता
हालसम्म कोषमा नौ लाख बढी श्रमिक आवद्ध भएका छन् । कोषमा ९ लाख २८ हजार ४५३ योगदान कर्ताए रहेका छन् भने सूचीकृत रोजगार दाताको संख्या १८ हजार ४३९ रहेको छ ।
कोषका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशबाट ३ लाख ५४ हजार ५९० योगदानकर्ता सूचीकृत भएका छन् । कोशी प्रदेशबाट ४६ हजार ६४८, मधेशबाट २३ हजार ६६६, गण्डकीबाट १७ हजार ६७८, लुम्बिनीबाट १५ हजार ८३०, कर्णालीबाट एक हजार ४७९ र सुदुरपश्चिमबाट १ हजार ९०५ योगदानकर्ता सूचीकृत भएका हुन् ।
कोषमा आवद्ध हुने रोजगारदाताको संख्या १८ हजार ४३९ पुगेको छ । जसमध्ये बागमती प्रदेशबाट १२ हजार ७४०, कोशीबाट एक हजार ९२५, मधेशबाट ८६५, गण्डकीबाट ८६१, लुम्बिनीबाट १ हजार ५२३, कर्णाली प्रदेशबाट २५२ र सुदपश्चिमबा६ २७३ रोजगारदाता आवद्ध भएका हुन् ।
के छ व्यवस्था ?
२०६७ साल चैत्र ७ गतेदेखि स्थापना भएको यो कोषले सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम काम गर्दै आएको छ ।
२०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा आएको थियो । जसमा रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।
कोषमा जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।
वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्ने व्यवस्था समेत रहेको छ ।
Advertisment