काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि रहेको बताएका छन् । त्रिहिबारदेखि शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्लेख गर्दै मुलुकको मुद्रास्फीति अझै पनि केन्द्रीय बैंकको लक्ष्यभन्दा माथि रहेको बताए । उनले केही उदीयमान बजार र विकासशील अर्थतन्त्रहरूले अझै पनि उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताए ।
यसका साथै गभर्नर अधिकारीले विभिन्न चुनौतीकाबीच मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा रहेको र यसलाई थप गतिशिल बनाउन जरुरी भएको उल्लेख गरे । उनले आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पु¥याउने क्षेत्रमा बैंकिङ क्षेत्रका स्रोतसाधनलाई पूर्णरुपमा पुनर्संरचना गर्ने बेला आएको भन्दै दिगो आर्थिक वृद्धि हासिल गर्न जरुरी रहेको बताए ।
उनले भने, “मध्यपूर्वमा भर्खरै बढ्दो इजरायल–हमास युद्ध र लामो समयसम्म रुस–युक्रेन संकटले मूल्य स्थिरता कायम राख्न चुनौती खडा गरेको छ । फलस्वरूप, धेरै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत कडाइ जारी राखेका छन् । जसले गर्दा लामो समयसम्म उच्च ब्याजदरको सामना गरेनुपरेको देखिन्छ ।”
नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै गभर्नर अधिकारीले डिजिटल बैंकिङ प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । एसियाली बैंकहरुले खराब कर्जा वृद्धि हुन नदिन सम्भावित जोखिमलाई आत्मसाथ गरेर व्यवस्थानलाई प्रभावकारी बनाउनुपर्ने खाँचो औंल्याए ।
गभर्नर अधिकारीले द्रुत प्राविधिक परिवर्तनले बैंकिङ प्रणालीमा धेरै फाइदा पुगेको र यसले बैंकिङलाई व्यवसायमा रूपान्तरण गरिरहेको भन्दै यसको दिगोपनाका लागि सहज रहनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेका छन् । नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समक्ष लगानी गर्न उनले आग्रह गरे ।
“नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ”, अर्थमन्त्री डा महतले भने, “भारतले १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाइसकेको अवस्थामा जलविद्युतमा लगानीको प्रशस्त सम्भावना छ । त्यसैले जलविद्युत्मा ढुक्कसँग लगानी गर्नुस् । सहजिकरणका लागि सरकार प्रतिबद्ध छ ।”
सरकारले नीतिगत रुपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने भन्दै उनले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उल्लेख गरे । विश्व बैंक र एसियाली विकास बैंकले पनि नेपालको ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको भन्दै उहाँले विदेशी लगानी आकर्षण गर्न सरकारले लगानीमैत्री वातावरण बनाउनेमा विश्वास दिलाए ।
उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको बताए । सरकारले विद्युत् उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरको अर्थमन्त्रीको भनाइ छ ।
एसियन बैंकर सङ्घका अध्यक्ष युजेन एसभेडोले एसियन मुलुकको समग्र अर्थतन्त्रको दिगोपनाका लागि सहकार्यका साथ प्रभावकारी योजना कार्यक्रम अगाडि बढाउनुपर्ने खाँचो औंल्याए । उनले एसियाली बैंकको आगामी रणनीतिबारे अवधारणा बनाउन सम्मेलनले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बैंकर सङ्घका अध्यक्ष सुनील केसीले नेपालमा पहिलो पटक आयोजना भएको एसियन मुलुकका बैङकका सिइओसहितको सम्मेलनले नेपाली बैंकिङ क्षेत्रलाई चुनौतिपूर्ण परिस्थितिबाट उठेर आगामी दिनमा कसरी प्रभावकारी भूमिका खेल्नेभन्नेबारे दीर्घकालीन रणनीति तय गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल बैंकर सङघ र एशियन बैंकर सङघको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनमा सदस्य १८ देशका ६० भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिको सहभागीता छ ।
Advertisment