भूकम्प प्रभावितका लागि सिबिफिनले १० लाख आर्थिक सहयोग गर्ने 

भूकम्प प्रभावितका लागि सिबिफिनले १० लाख आर्थिक सहयोग गर्ने 

काठमाडौं : नेपाल बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) ले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । कार्तिक १७ गते शुक्रबारको राति ११ः४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट प्रभावितहरुका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको हो । 

Sponsored Advertisement

यसका साथै जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति सिबिफिनले गहिरो दुःख व्यक्त गरेको छ । भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत सिबिफिनकोतर्फबाट तत्कालका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । 

राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सिबिफिनले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरुसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएकोमा तत्काल खाद्यान्य, औषधोपचार, न्याना लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेको जानकारी प्राप्त भएकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पु¥याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउनुहुन सम्बन्धित प्रदेश÷जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक आग्रह गरेको छ ।

विपत्ति न जानकारी दिएर आउँछ, न त व्यक्ति एवं भूगोल विशेष हेरेर आउँछ भन्ने शास्वत सत्यलाई मनन् गर्दै जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पिडितहरुको सहयोगार्थ सदस्य बैंक तथा वित्तीय संस्थाहरुले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भईरहेको छ ।

यस संवेदनशील घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिनले हार्दिक आभार व्यक्त गरेको छ । साथै, यसैगरी खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा हार्दिक अपिल गरेको छ । 

संघले विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको हार्दिक कामना व्यक्त गरेको छ । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । 

थप समाचार