काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो । बैंकका अनुसार ९१ दिन अवधिको ट्रेजरी माघ २३ गते र १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ बैशाख ३१ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । यसअघि बैंकले पाँच अर्ब रुपैयाँ बराबरको २८ दिने, आठ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, १३ अर्ब रुपैयाँ बराबरको १८२ दिने र एक अर्ब ५६ करोड रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नविकरण गरेको थियो ।
Advertisment