काठमाडौं : हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १० लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८५.०९ प्रतिशतले कम हो । जबकी गत आवको असोज मसान्तसम्म कम्पनीले ७२ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै नाफा घट्न पुगेको हो । यसका साथै असोज मसान्तसम्म आइएपुग्दा कम्पनीको निष्क्रिय कर्जा बढेका कारण पनि नाफामा असर परेको हो ।
गत आवको असोज मसान्तसम्म ५ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिमा ५ करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिको तुलनामा संस्थाको ब्याज आम्दानी २.१३ प्रतिशतले घटेको छ ।
यसका साथै समिक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १०.३९ प्रतिशत र सञ्चालन आम्दानी ८५.०८ प्रतिशतले घटेको छ । गत आवको असोज मसान्तसम्म १.४७ प्रतिशत रहेको संस्थाको खराब कर्जा बढेर २.९२ प्रतिशत पुगेको छ ।
Advertisment