काठमाडौं : पछिल्ला समय मानिसहरुमा चाडपर्व मनाउने शैली फरक बन्दै गएको छ । दशैँ तिहार, छठ पर्व लगायत नयाँ वर्षहरुमा पनि पारिवारिक जमघटका गरेर रमाइलो गर्नुका साथै सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।
नेपालीहरुको महान चाडपर्व दशैं आइसकेको छ । दशैंमा परिवारसहित घुम्न निस्किने प्रचलन बढ्दो छ । विशेषगरी वर्षा सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि दशैंको बेलाल घुमघामका लागि उपयुक्त समय मानिन्छ । यसका साथै दशैमा बिदा बढी हुने र अतिरिक्त आम्दानी पनि हुने भएकाले घुमघामका लागि धेरैजसो मानिसहरु जानेगर्छ ।
दशैँको समयमा धेरैजसोमा मानिसहरु उपत्यका छाडेर गाउँ जाने गर्छन् । उपत्यका सुनसान जस्तै हुने गर्छ । उपत्यकामा रहेकाहरु कतिपय व्यक्ति घुम्नका लागि सोखिन हुन्छन् । घुम्न सोखिन भएका व्यक्ति जसलाई काठमाडौं उपत्यकाबाट पदयात्रा गर्न सकिने गन्तव्यको बारेमा चर्चा गरेका छौं ।
नगरकोट
काठमाडौंबाट ३२ किलोमिटर उत्तर–पूर्वमा रहेको नगरकोट उपत्यका नजिकको प्रमुख पर्यटकीय गन्तव्य हो । जहाँबाट उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ । यकसा साथै सूर्योदय, सूर्यास्त र हिमालको दृश्यावलोकनका लागि पनि नगरकोट प्रसिद्ध मानिन्छ ।
समुन्द्र सतहबाट २१ सय ५९ मिटर उचाईंमा रहेको नगरकोट काठमाडौंबाट ९ किलो मिटरको दुरीमा पर्छ । हाइकिङ जान तीन घण्टामा समय लाग्छ । सफा मौसम हुने भएकाले पनि नगरकोटलाई प्रसिद्ध रमणीय पर्यटकिय स्थल रुपमा लिइन्छ । हाइकिङ जाँदा सगरमाथा, मनास्लु, गणेश, लाङटाङ लगायतका हिमाली शृङ्खला देख्न सकिन्छ ।
धुलिखेल
काठमाडौंबाट झण्डै ३२ किलोमिटरको दुरीमा रहेको धुलिखेल उपत्यकामा बस्नेहरुका लागि प्रमुख पर्यटकीय गन्तव्य हो । पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले पनि भरिपूर्ण धुलिखेल परिवारिक घुमघामको लागि पनि उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।
काठमाडौंबाट नजिक र सार्वजनिक यातायातको पनि सुविधा हुने भएकाले पनि पदयात्राका लागि पनि धेरैजसो मानिसहरुको जाने गर्छन् । जहाँ महँगा होटेलदेखि आमसर्वसाधारणले समेत यहाँ विदा मनाउने गरेका छन् ।
चम्पादेवी
काठमाडौंको दक्षिणतिर रहेको चम्पादेवी समुद्र सतहबाट २ हजार २ सय ५० मिटर उचाइ रहेको छ । उपत्यका नजिक रहेको चम्पादेवी पदयात्राका लागि पछिल्लो समय उत्कृष्ट गन्तव्य बनेको छ । पदयात्राका लागि मात्र नभएर चम्पादेवी धार्मिक तथा ऐतिहासिक रुपमा पनि प्रसिद्ध रहेको त्यस क्षेत्रबाट उपत्यकाको मनोरम दृश्य समेत देख्न सकिन्छ । उक्त क्षेत्रबाट सर्वोच्च शिखर सगरमाथासहित १२ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । साथै त्यस क्षेत्रबाट उपत्यकाको मनोरम दृश्य समेत देख्न सकिन्छ ।
चन्द्रागिरि
उपत्यका नजिकको अर्को प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि । काठमाडौंबाट नजिक रहेको चन्द्रागिरीमा पछिल्लो समय केबुलकार लगायत सुविधा सम्पन्न होटलको सुविधाले पनि पर्यटकको प्रमुख गन्तव्य बनेको छ । समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधा सम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकसित भएसकेको छ ।
यस क्षेत्रलाई पर्यटकिय गन्तव्यका रुपमा मात्र नभएर धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । चन्द्रागिरि जानका लागि थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ भने थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ ।
गोदावरी
ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दूरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यता लागि पनि उत्कृष्ट ठाउँ रहेको छ । यो उपत्यका नजिकको रहेको अर्को प्रमुख गन्तव्य हो हो । प्राकृतिक सौन्दर्यता मात्र नभई धार्मिक तथा पौराणिक रुपमा प्रसिद्धि कमाएको गोदावरी पर्यटकीय गन्तव्यका साथै पिकनिक र पारिवरिक रिफ्रेसका लागि गोदावरी उपयुक्त ठाउँ रहेको छ ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्णरहेको गोदावारीमा पदयात्रा सँगसँगै बस्नको लागि आरामदायी होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ । ढकमक्क फुलेका फूल, विभिन्न जडिबुडी र वनस्पति उद्यान, जल उद्यान, बगैंचा र जंगलले घेरिएको यो गोदावारी प्राकृतिक सौन्दर्ययुक्त छ ।
फूलचोकी
पदयात्राका लागि उपत्यका नजिकको अर्को उत्कृष्ट पर्यटकीय गन्तव्य हो फूलचोकी । पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा रहेको फूलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो ।
समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाईमा रहेको फूलचोकी काठमाडौ उपत्यकालाई घेरेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका हिम श्रृङखलाको पनि दृश्यावलोकन गर्न सकिन्छ । उक्त क्षेत्रमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य गरी धेरै पर्यटकहरु जाने गरेका गर्छन् । प्राकृतिक रुपले भरिपूर्ण रहेका फुलचोकी पछिल्लो समय पदयात्राका लागि धेरै पर्यटकहरुको आकर्षक गन्तव्य बनेको छ ।
शिवपुरी, चिसापानी
शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । जुन समुद्री सतहबाट २ सय ५ सय ६३ मिटर उचाइमा रहेको छ । उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक शिवपुरी पुग्ने गर्दछन् । घना जंगलको उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमालको मनोरम दृश्यका साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधा सम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।
शिवपुरी जस्तै पर्यटकीय प्रसिद्ध रहेको चिसापानी पनि पदयात्राका लागि उत्कष्ट गन्तव्य रहेको छ । सुन्दरीजलबाट ११ किलोमिटर र समुद्री सतहबाट २ हजार २ सय मिटरमा उचाईं रहेको चिसापानीबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट सगरमाथा, माछापुच्छ«े, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमाल लगायत हिमश्रृङ्खला देख्न सकिन्छ ।
ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी पदयात्राका लागि काठमाडौं नजिक रहेको अर्को मुख्य पर्यटकीय गन्तव्य हो । हिमाल, सूर्योदय र सूर्यास्त हेर्न लागि पनि प्रख्यात रहेको ककनी माछापोखरीबाट २१ किलोमिटर दुरीमा रहेको छ । पर्यटकीय गन्तव्य मात्र नभएर ककनी ऐतिहासिक र सांस्कृतिक रुपमा उत्तिकै महत्वपूर्ण रहेको छ ।
हरियाली वातावरणका कारण पनि ककनी घुम्नका लागि उपयुक्त ठाउँ रहेको ककनी । समुद्र सतहबाट २ हजार २ मिटरको उचाईंमा रहेको छ । जहाँबाट दक्षिणमा सिमभन्ज्याङ र दामन, पूर्वमा काठमाडौं उपत्यका, उत्तरमा गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, बुद्ध, मनास्लु, हिमचुली, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर, सगरमाथा, ल्होत्से लगायत हिमाल र थानसिंह फाँटका मनोरम दृश्य देख्न सकिन्छ ।
ककनीबाट हाइकिङ सुरु गरेर पिकनिक स्पट, मेमोरियल पार्क, स्काउट भवन हुँदै निकुन्ज र निकुन्जबाट तारकेश्वर झरना हुँदै तारकेश्वर महादेव र त्यहाँबाट गएकै बाटो फर्केर पाँचमानेसम्म पदयात्रा गर्न सकिन्छ ।
नमोबुद्ध
काठमाडौंबाट ४२ किलोमिटर र धुलिखेलबाट १३ किलोमिटर दुरीमा रहेको नमोबुद्ध धार्मिक तथा ऐतिहासिक सम्पदाका साथसाथै पर्यटकीय गन्तव्यका रुपमा पनि पहिचान बनाउँदै गएको छ । किंवदन्ती अनुसार गौतम बुद्धको अघिल्लो जन्मका रुपमा नमोबुद्धलाई लिइने गरेको छ भने उनले सोही स्थानमा भोकाएकी सुत्केरी बघिनीलाई आफ्नै शरीरको मासु काटेर खुवाएका थिए । मासु सबै बघिनीलाई खुवाइ सकेपछि बाँकी रहेको हड्डीलाई सोही स्थानमा पुरिएको थियो ।
पनौतीबाट शंखु उपत्यका हुँदै धुलिखेलबाट हाइकिङ गर्दै नमोबुद्ध पुग्न सकिन्छ । हाइकिङका क्रममा त्यो ठाउँबाट विभिन्न हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ । पर्यटकहरुका लागि पर्याप्त होटल तथा लजहरु खुलेका छन् भने पछिल्लो समय होमस्टे सुविधा पनि फस्टाउँदै गएको छ ।
लाँकुरी भन्ज्याङ
ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै आएको छ । उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरुको दृश्यावलोकनका लागि यो ठाउँ परिचित छ ।
राम्रोसँग सूर्योदय देखिने भन्ज्याङका रुपमा परिचित यो ठाउँ चक्रपथबाट १३ किमिको दूरीमा पर्छ । लगनखेलबाट ५ किलोमिटर पदयात्राबाट गरेपछि लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ । लाँकुरी भन्ज्याङकाट सगरमाथादेखि सबै हिमाल देख्नुका साथै वनजंगलले ढाकिएको प्राकृतिक सुन्दरताको मनमोहक दृश्य देख्न सकिन्छ ।
Advertisment