काठमाडौं : दुई वाणिज्य बैंकसहित तीन कम्पनीको करिब दश लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीहरुले नौं लाख ८४ हजार ४७६ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरु र सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।
शेयर बिक्रीमा ल्याउने कम्पनीमा कुमारी बैंक, नेपाल इन्भेष्मेन्ट मेगा बैंक, इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् । नेपाल इन्भेष्मेन्ट बैंकले १२ जना संस्थापक शेयरधनीको नाममा रहेको आठ लाख १६ हजार ७३ कित्ता शेयर संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
बैंकको शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई बैंकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई बोलपत्र आवेदन पेश गर्नुपर्ने छ ।
त्यस्तै, कुमारी बैंकले दुई जना शेयरधनीको नाममा रहेको आठ हजार ८९२ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुका लागि बिक्रीमा ल्याएको छ । बैंकको शेयर खरिदका लागि इच्छुक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धीत विवरण खुलाई बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनुपर्नेछ ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीले किनेर बाँकी रहेको ९९ हजार ३७२ कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीको नाममा रहेको ६६ हजार ९६२ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउनेगरी शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी आफूले खरिद गर्न चाहेको कित्ता खुलाई तोकिएको समयभित्र संस्थाको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ ।
यसका साथै कम्पनीले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी र सर्वसाधारणले सूचना प्रकाशित भएको १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय गैँडाकोट –२ नवलपरासीमा आवेदन दिनुपर्नेछ ।
कम्पनीहरुरुले बिक्रीमा ल्याएको शेयर तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने जनाईएको छ ।
Advertisment