काठमाडौं : मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा एफपीओ जारी गर्ने भएको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो।
लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको एफपीओमा लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि कात्तिक ९ गतेसम्म लम्बिनेछ।
लघुवित्तको एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा र मेरो शेयर मार्फत आवेदन दिन सक्नेछन्।
Advertisment