Below Menu
Below Menu

बैंकिङ प्रणालीमा थुप्रिदै तरलता, सस्तो ब्याजदरमा ऋण उठाउँदै सरकार  

बैंकिङ प्रणालीमा थुप्रिदै तरलता, सस्तो ब्याजदरमा ऋण उठाउँदै सरकार  

काठमाडौं :  बैंकिङ प्रणालीमा एकैदिन १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत आइतबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन १४ अर्बले बढेर ५८ खर्ब ६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असोज १३ गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा ६ अर्ब ८२ करोड रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो दिनसम्म ५१ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन १३ अर्ब निक्षेप बढेर ५१ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा १४ अर्ब निक्षेप थपिदा दुई अर्ब मात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४९ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.५२ प्रतिशत रहेको छ भने सिडि रेसियो ८२.०५ बिन्दुमा झरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप थपिदै गएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता प्रशोचन गर्ने गर्दछ । तर, यस पटक राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेको छैन ।

बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण उठाइ रहेको छ । सरकारले चालू आर्थिक वर्षको असोज १४ गतेसम्ममा विकास ऋणपत्र ७२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ७२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो ।


 

Advertisment