काठमाडौं : नेपाल राष्ट्र बैंकले सरकारका लागि चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ४४ अर्ब २६ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म राष्ट्र बैंकले सो रकम बराबरको आन्तरिक ऋण उठाएको हो । बैंकले साउनमा १३ अर्ब ६ करोड र भदौमा ३१ अर्ब २० करोड गरी ४४ अर्ब २६ करोड रूपैयाँ आन्तरिक ऋण उठाएको हो ।
राष्ट्र बैंकले पहिलो तीन महिनामा ५५ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाउने तालिका सार्वजनिक गरेको थियो । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको छ ।
कार्यालयका अनुसार यस अवधिमा बाह्य ऋण भने चार अर्ब ९७ करोड ३२ लाख प्राप्ति भएको छ । जसमा साउनमा दुई अर्ब ७१ करोड ८३ लाख र भदौमा दुई अर्ब २५ करोड ४९ लाख प्राप्ति भएको हो ।
यसका साथै भदौ मसान्तसम्ममा आन्तरिक ऋणको साँवा भुक्तानी ३२ अर्ब ८३ करोड ३५ लाख र बाह्य ऋणको साँवा भुक्तानी पाँच अर्ब ८८ करोड २६ लाख रूपैयाँ भएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख रूपैयाँ पुगेको छ । गत असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रूपैयाँ रहेको थियो । यस अवधिमा १० अर्ब ५१ करोड ७१ लाख सार्वजनिक ऋण थपिएको छ ।
यस अवधिमा सार्वजनिक ऋणको ब्याज भुक्तानीको लागि दुई महिनामा ११ अर्ब ६ करोड ४८ लाख रूपैयाँ खर्च गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
Advertisment