काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले चाल् आर्थिक वर्षको भदौ मसान्तसम्ममा सात अर्बबढीको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा कम्पनीहरुले चार लाख ८ हजार ९७३ बीमालेख बिक्री गरी सात अर्ब ८ करोड ४८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
प्राधिकरणका अनुसार यस अवधिमा सर्वाधिक बीमा व्यवसाय गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको कम्पनीले यस अवधिमा ४६ हजार ९५८ बीमालेख बिक्री गरी ९१ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो ।
त्यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले भदौसम्ममा ५० हजार ८६१ बीमालेख बिक्री गरी ७३ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हो । त्यस्तै, यस अवधिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले भदौसम्ममा ३७ हजार ३८७ बीमालेख बिक्री गरी ६४ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
चालु आवको यस अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले २३ करोड ६१ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ भने दि ओरियन्टल इन्स्योरेन्सले ३२ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५१ करोड २९ लाख रुपैयाँ बराबरको बीमाशूल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ३० करोड ६ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्र्जन गर्दा नेको इन्स्योरेन्सले ५२ करोड ६४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले ४३ हजार १८६ बीमालेख बिक्री गरी ६६ करोड २४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणका अनुसार भदौसम्ममा प्रभु इन्स्योरेन्सले ४१ करोड ४३ लाख, एनएलजीले ४२ करोड ८९ लाख, सानिमा जिआईसीले ३७ करोड ८८ लाख, आईजीआई प्रुडेसिन्यलले ५५ करोड ४० लाख र युनाइडेड अजोड इन्स्योरेन्सले ४५ करोड ३० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
एक महिनामा २२.२४ प्रतिशतले घट्यो व्यवसाय
प्राधिकरणका अनुसार गत साउन महिनाको तुलनामा भदौ महिनामा कम्पनीहरुको व्यवसाय घटेको छ । भदौमा मात्रै कम्पनीहरुले एक लाख ९५ हजार १७० बीमालेख बिक्री गरी ३ अर्ब ९ करोढ ९० लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
गत साउन महिनाको तुलनामा कम्पनीहरुको व्यवसाय २२.२४ प्रतिशतले घटेको छ । गत साउन महिनामा कम्पनीहरुले २ लाख १३ हजार ८०३ बीमालेख बिक्री गरी ३ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।
दुई लघुबीमाले गरे करिब चार लाखको व्यवसाय
भदौ मसान्तसम्ममा निर्जीवन बीमा अन्तर्गतका दुई लघुबीमा कम्पनीहरुले करिब चार अर्बको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरुले १०७ बीमालेख जारी गरी ३ लाख ९५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २ लाख ७६ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले एक लाख १९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेकोे हो ।
Advertisment