काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो ।
राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको एक खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विकास ऋण पत्रको समयमावधि परिवर्तन गरेको हो ।
संशोधित नयाँ व्यवस्थामा अनुसार नयाँ व्यवस्था राष्ट्र बैंकले पहिलो त्रैमासमा ७५ अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ भने दोस्रो त्रैमासमा २० अर्बको विकाुस ऋणपत्र जारी गर्ने भएको छ ।
यसअघि बैंकले पहिलो त्रैमासमा ५० अर्ब रुपैयाँ र दोस्रो त्रैमासमा ४५ अर्ब रुपैयाँ बराबरको विकासऋणपत्र जारी गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने छ । त्यस्तै, ६ वर्षे अवधिका लागि हिस्सा ७४ अर्ब रुपैयाँ र ८ वर्ष अवधिका लागि ७५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको हो ।
राष्ट्र बैंकका अनुसार सरकारले चालु आवमा ट्रेजरी बिल मार्फत ५५ अर्ब रुपैयाँ बराबरको आन्तरिक उठाउने भएको छ । उक्त कार्यतालिका अनुसार राष्ट्र बैंकले प्रथम त्रैमासमा ५ अर्ब, दोस्रो त्रैमासमा १० अर्ब, तेस्रो त्रैमासमा १५ अर्ब र चौथो त्रैमासमा ५ अर्ब गरी ५५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने छ ।
राष्ट्र बैंकले यस अवधिमा २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको २३ अर्ब, १८२ दिन अवधिको १७ अर्ब र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने छ ।
यसका साथै राष्ट्र बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्कासन गर्ने राष्ट्र बैंकको कार्यतालिकामा उल्लेख छ । त्यस्तै चाल् आवमा ५ वर्षका लागि एक अर्ब रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गर्ने राष्ट्र बैंकले जनाएको छ ।
सरकारले चाल् आवको बजेटमार्फत २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोही लक्ष्य अनुरुप राष्ट्र बैंकले कार्यतालिका सार्वजनिक गरेको थियाे ।

Advertisment