काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन सात अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले तीन अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
गत शुक्रबार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकै दिन सात अर्बले बढेर ५७ खर्ब ५५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असोज ४ गते बिहिबारसम्म बैंक तथा वित्तीय संस्थामा ५७ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।
बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा मात्रै एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने अन्य वित्तीय क्षेत्रमा एक अर्ब रुपैयाँ निक्षेप घटेको छ । अघिल्लो दिनसम्म ५० खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा सो दिन ८ अर्ब निक्षेप बढेर ५० खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै गएपनि कर्जा लगानी भने सुस्त देखिएको छ । सो अवधिमा बैंकिङ प्रणालीमा सात अर्ब निक्षेप थपिदा तीन अर्ब मात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ४९ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ४३ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ५ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबारको ब्याजदर र सिडि रेसियो पनि घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.६४ प्रतिशत रहेको छ भने सिडि रेसियो ८२.४१ बिन्दुमा झरेको छ ।
Advertisment