Below Menu
Below Menu

सदस्यको सक्रियता रह्यो भने सहकारी सुरक्षित हुन्छ: पूर्व गभर्नर खतिवडा

सदस्यको सक्रियता रह्यो भने सहकारी सुरक्षित हुन्छ: पूर्व गभर्नर खतिवडा

काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सदस्यको सक्रियता रहयो भने सहकारी संस्था सुरक्षित रहने बताएका छन् । सहकारीमा बचतको बीमा नभएको र निक्षेप तथा कर्जा सुरक्षणको व्यवस्था नभएकाले सदस्यले नै बचतको सुरक्षण गर्नु पर्ने उनको भनाई छ ।

‘जुन संस्थामा सदस्य सक्रिय छैनन्, सदस्यबीच एकआपसमा चिनजान छैन र सञ्चालक, कर्मचारी र सदस्य चिन्दैनन् तीनै संस्था समस्यामा पर्ने हो’, उनले भने । निश्चित भौगोलिक क्षेत्र र सदस्य बीच कारोबार नगर्ने सहकारी समस्यामा पर्ने गरेको भन्दै गभर्नर खतिवडाले त्यस्ता सहकारीमा कारोबार नगर्न आग्रह गरे । पूर्व अर्थमन्त्री समेत रहेका खतिवडाले बहुउदेश्यीय नाम दिने तर एकल उदेश्य मात्र गर्ने गरेको भन्दै खतिवडाले बहुउदेश्यीयले सोही अनुसार काम गर्नु पर्नेमा जोड दिए । काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको  १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने, ‘सहकारीको मूल्य मान्यताको परिपालना गरेर सञ्चालन भए सहकारीमा समस्या आउँदैन ।’ सहकारी वित्त बजारको पेटीमा हिँडिरहेको भए पनि अर्काको कारणले कतिपय सहकारी संस्था दुर्घटनामा परेको खतिवडाको भनाई छ ।

उनले भने, ‘वित्तीय प्रणालीमा ८० प्रतिशत माथि कारोबार गर्ने अरु संस्था छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर १३/१४ सम्म पुर्याए भने ऋणमा १७ प्रतिशतसम्म ब्याज लिए । सहकारीलाई भने सन्दर्भ ब्याजदरको नाममा  सिलिङ्ग लगाएर १६ प्रतिशत भन्दा बढी ऋणको ब्याज लिन दिएन । यसले पनि सहकारीलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्न समस्या भयो ।’ सरकारका शासनिक निर्णय र घर जग्गा कारोबार लगानी गर्ने प्रतिस्पर्धाले सहकारीलाई समस्यामा पारेको उनले प्रष्ट पारे । उनले थपे, ‘चालु पुँजी कर्जा, ओभर डाफ्ट्र वा सफट् लोन जे नामको ऋण भने पनि घर जग्गामा नै लगानी भयो ।

सहकारीले पनि त्यस क्षेत्रमा नै लगानी गरे । सरकारले घर जग्गाको वर्गीकरण सुरु गर्यो । वर्गीकरण नभई कित्ता काट भएन । कित्ताकाट नभए पछि कारोवार भएन । यसले ऋण असुलीमा प्रभाव पार्यो ।’ बचत पनि आईरहन्छ र लगानी चलिरहन्छ भन्ने हिसावले सहकारीले ती क्षेत्रमा लगानी गरे, तर त्यो मान्यताले सधै काम नगर्ने उनले प्रष्ट पारे । त्यसैले सहकारीले  जगेडा कोष, पर्याप्त तरलता र लोन प्रोभिजन गर्दै जानु पर्ने उनको भनाई छ ।

संस्थाका अध्यक्ष विदुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत फडिन्द्र कुमार खड्काले आर्थिक बर्ष २०७९/८० आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

Advertisment

थप समाचार