काठमाडौं : नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडाले सहकारीमा यो भन्दा कठिन दिन नआए पनि राम्रा दिन पनि आइनसकेको सकेको बताएका छन् ।
काठमाडौंको चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभको १४ औं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा बोल्दै उनले वित्तीय कारोबारमा राम्रा दिन आउनलाई अझै समय लाग्ने भन्दै उनले सावधानीपूर्वक वित्तीय कारोबार गर्न आग्रह गरे । हौसिएर लगानी गर्दा तरलताको समस्या आउन सक्ने भन्दै उनले सहकारीलाई बचाउने कोही नभएकाले सावधानी अपनाउन सुझाए । सहकारी बैंक र नेफस्कूनको क्षमता आफुलाई थाहा भएकाले समस्या पर्दा ती संस्थाले सहयोग गर्छन भनेर ढुक्क नहुन उनको आग्रह छ ।
बैंकहरुलाई तरलताको समस्या पर्दा राष्ट्र बैंकले सघाउनुका साथै स्थायी तरलता सुविधा, रि फाईनान्सको सुविधाका साथै बन्ड जारी गर्न सक्छन् तर सहकारीको हकमा त्यस्तो सुविधा दिने कुनै निकाय नभएको उनले प्रष्ट पारे । उनले भने, ‘एउटा सदस्यको चेक साटिएन भने टोल भरी हल्ला हुन्छ र भोलीबाट सदस्यहरु बचत फिर्ताको लागि लाईन लाग्छन, सहकारीलाई अन्तिम ऋण दाताको सुविधा दिने संस्था छैनन् ।’
सदस्य, सञ्चालक, लेखा समिति र सरकारले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न सके सहकारी क्षेत्र सुरक्षित र व्यवस्थित बन्दै जाने खतिवडाले बताए । सहकारी स्वायत संस्था भएकाले राष्ट्र बैंकलाई जिम्मा दिइयो भने माइक्रो पाईनान्सकै स्थिति हुने उनको भनाई छ ।
स्वनियमनमा बस्ने संस्थाले म तेरो स्वामित्व स्वीकार गर्छु भनेर राष्ट्र बैंकको पछि लागियो भने सहकारी स्वतन्त्र व्यवसाय नहुने उनले प्रष्ट पारे । सहकारीमा पनि स साना बचतको सुरक्षा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको र त्यसका लागि नयाँ प्रणालीमा जान आवश्यक रहेको खतिवडाले बताए । सहकारीको लागि छुट्टै ऋण सुरक्षा प्रणाली आवश्यक रहेको र कर्जा सुरक्षा केन्द्रमा गएर भिडभाड गर्नु भन्दा आप्mनै कर्जा सुरक्षा प्रणाली विकास गर्नु पर्नेमा उनले जोड दिए । सहकारी बचत ऋण गर्ने सामाजिक संस्था भएकाले समाजप्रतिको जिम्मेवारी पूरा गनुपर्ने उनको भनाई छ ।
संस्थाप्रति सदस्यले र सदस्यप्रति संस्थाले जिम्मेवारी पूरा गर्न सके सहकारीमा समस्या नआउने उनले प्रष्ट पारे । आन्तरिक लेखा प्रणालीलाई ठिक ढंगले राख्न र लेखा समितिमा भाई भतिज नराख्न उनको सुझाव छ ।
Advertisment