Below Menu
Below Menu

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्‍यो दुई नयाँ योजना, योगदानकर्ताका दम्पत्तिलाई समेत सुविधा

कर्मचारी सञ्चय कोषले सार्वजनिक गर्‍यो दुई नयाँ योजना, योगदानकर्ताका दम्पत्तिलाई समेत सुविधा

काठमाडौं : आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ ।

कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष एक लाखसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम १० लाखसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो । अब यस्तो सुविधा दम्पत्तिका लागि पनि लागू हुने कोषले जनाएको छ । त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रुपमा दुई सन्ततिसम्मका लागि प्रति प्रसुति सात हजार पाँच सय, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई दुई लाख र काजक्रिया अनुदान योजनाअन्तर्गत हकवालालाई ४० हजारसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कूल पाँच खर्ब १२ अर्ब चार करोड बराबरको स्रोत रहेकोमा पाँच खर्ब तीन अर्ब ७४ करोड बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले जानकारी दिए । कोषले १२ वटा जलविद्युत् आयोजनामा करिब ६० अर्ब, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब १० अर्ब र पूर्वाधारका क्षेत्रमा २० भन्दा बढी आयोजनामा करिब २७ अर्ब बराबर लगानी गरेको धितालको भनाइ छ 

Advertisment